मकवानपुरमा सशस्त्र प्रहरीद्वारा रोप रेस्क्यु तालिम सुरु
३१ वैशाख, हेटौँडा । सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको आयोजनामा रोप रेस्क्यु (डोरीमार्फत उद्धार) सम्बन्धी अनुशिक्षण तालिम सुरु गरिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको सहयोगमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस कुलेखानीमा बिहीबारदेखि सुरु भएको उक्त तालिम आगामी जेठ १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, स्थानीय तहका जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बाहिनीपति पोखरेलले विपद्का समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन रोप रेस्क्युसम्बन्धी सीप अत्यन्त आवश्यक रहेको बताउँदै तालिमले जनशक्ति थप दक्ष र सक्षम बन्ने विश्वास व्यक्त गर्नुभयो । तालिमअन्तर्गत प्रशिक्षार्थीलाई डोरी तथा विशेष उद्धार उपकरण (हार्नेस, काराबिनर, पुली आदि) प्रयोग गरी खोँच, भीर, नदी वारपार तथा अन्य जोखिमपूर्ण स्थानबाट सुरक्षित रूपमा उद्धार गर्ने सीप प्रदान गरिने जनाइएको छ ।
उक्त तालिममा गढिमाई बाहिनी मुख्यालय मातहतका विभिन्न कार्यालयबाट विभिन्न दर्जाका २० जना सशस्त्र प्रहरी कर्मचारी सहभागी छन् ।














