म्यानेजमेन्टको शिक्षा संकायमा निःशुल्क भर्ना कार्यक्रम निरन्तर
४ जेठ, हेटौँडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि पनि कक्षा ११ मा शिक्षा संकाय अन्तर्गत निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शिक्षा क्षेत्रमा अग्रणी उक्त विद्यालयले सामाजिक उत्तरदायित्वको भावना र गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै यस वर्ष पनि ३० जना विद्यार्थीलाई शिक्षा संकायमा शतप्रतिशत निःशुल्क अध्ययनको अवसर दिने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । कार्यक्रमअन्तर्गत नेपाली, अंग्रेजी र गणित विषयका लागि १०–१० जना गरी जम्मा ३० जना विद्यार्थी छनोट गरिनेछन् । आवेदन दिएका विद्यार्थीहरूको अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अगाडि बढाइने प्रिन्सीपल पुरन बहादुर जोशीले बताउनुभयो ।
गत शैक्षिक सत्र २०८२ मा पनि विद्यालयले ३० जना विद्यार्थीलाई निःशुल्क भर्ना दिएको थियो । प्रथम ब्याचका विद्यार्थीहरूले शिक्षण सीप, व्यवहारिक ज्ञान तथा व्यक्तित्व विकासमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन् । नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूलाई कक्षाकोठामा प्रयोगात्मक सिकाइ, शिक्षण अभ्यास, कार्यशाला तथा विभिन्न शैक्षिक गतिविधिमार्फत अनुभव प्रदान गरिनेछ । साथै हप्तामा दुई दिन विशेषज्ञ शिक्षकमार्फत मार्गदर्शन कक्षा सञ्चालन गरिनेछ । सो दिन विद्यार्थीका लागि निःशुल्क खानाको व्यवस्था कलेजले गर्दै आएको छ ।
यसका साथै उपस्थिती र सहभागिताका आधारमा प्रशिक्षार्थी विद्यार्थीलाई प्रति महिना एक हजार रुपैयाँ प्याकेज खर्च उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ । आवेदन दिएका विद्यार्थीहरूको अन्तर्वार्ता जेठ ११ गतेदेखि सञ्चालन गरिने म्यानेजमेन्टले जनाएको छ । शिक्षा संकायका साथै हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, ब्यूटीसियन तथा हेयर डिजाइनिङ संकायमा पनि भर्ना खुलेको जनाइएको छ ।














