सञ्जिवनी अटिजम केयर सेन्टर हेटौंडा १६ मा सारियो
४ जेठ, हेटौँडा । ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यसहित सञ्जिवनी अटिजम केयर सेन्टर स्थानान्तरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको उक्त केयर सेन्टर आइतबार हेटौंडा–१६ स्थित साविक त्रिभुवन माध्यमिक विद्यालयको भवनमा सारिएको हो । हाल बन्द अवस्थामा रहेको विद्यालय भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने गरी वडा कार्यालयले भवन उपलब्ध गराएपछि संस्थाले ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको हो । यसअघि हेटौंडा–४ मा साँघुरो कक्षा कोठामा सीमित पूर्वाधारका बीच अटिजम भएका बालबालिकालाई व्यवहारिक सीप सिकाउँदै आएको संस्था अब फराकिलो स्थानमा पुगेको छ । संस्थाका अनुसार स्थापना भएको पाँच महिनामै यहाँ अटिजम भएका २५ जना बालबालिका अध्ययनरत छन् ।
अटिजम भएका बालबालिकाकै अभिभावकहरूको पहलमा स्थापना गरिएको यो संस्था हालसम्म अभिभावककै आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ । संस्थाको नियमित सञ्चालनमा आर्थिक चुनौती भने अझै कायम रहेको सञ्चालक सुनिता सापकोटाले बताउनुभयो । ग्रामिण क्षेत्रका बालबालिकालाई लक्षित गर्दै संस्था स्थानान्तरण गरिएको सापकोटाले बताउनुभयो। । नगर क्षेत्रमा केही हदसम्म सुविधा भए पनि ग्रामिण क्षेत्रका बालबालिकाले आवश्यक व्यवहारिक सिकाइ पाउन सकेका नसकेकोले त्यसलाई ध्यानमा राख्दै गाउँतिर सेवा विस्तार गरेको उहाँको भनाई छ ।

वडा नम्बर १६ को कार्यालयले संस्थालाई भवनसँगै सिकाइ सामग्री समेत उपलब्ध गराउँदै आएको छ । केन्द्रमा बालबालिकाको बौद्धिक तथा समग्र विकासलाई ध्यानमा राखी व्यवहारिक सिकाइ, डे–केयर सेवा, स्पिच थेरापी, बिहेभियर थेरापी, अकुपेशनल थेरापी तथा फिजियोथेरापी सञ्चालन भइरहेका छन् । यसका साथै बालबालिकालाई दैनिक जीवनमा आवश्यक पर्ने सीपहरू—आफैं खाना खाने, कपडा लगाउने, सरसफाइ गर्ने तथा नियमित दिनचर्या पालन गर्ने अभ्यास गराइँदै आएको छ ।
संस्थामा हाल ८ जना तालिमप्राप्त शिक्षक, एक जना स्पिच थेरापिस्ट, एक जना फिजियोथेरापिस्ट तथा दुई जना सहयोगी कार्यरत छन् ।














