सार्वजनिक सेवा प्रवाहमा अपाङ्गता भएका व्यक्तिले भोगेका समस्याबारे छलफल
६ जेठ, हेटौँडा । हेटौंडामा सार्वजनिक सेवा प्रवाहका क्रममा अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका समस्या तथा समाधानका उपायबारे छलफल गरिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको आयोजनामा तथा अपाङ्गता उत्थान समाज मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले सरकारी कार्यालय तथा सार्वजनिक संरचनामा सहज पहुँच नहुँदा दैनिक रूपमा विभिन्न कठिनाइ भोग्नुपरेको गुनासो गरेका थिए । सहभागीहरूले सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउन, सेवा प्रवाहलाई सहज र सम्मानजनक बनाउन तथा स्थानीय तहले विशेष बजेट व्यवस्था गर्नुपर्ने माग राखेका थिए । कार्यक्रममा बोल्दै अपाङ्गता उत्थान समाज मकवानपुरका ठाकुर राम थापाले धेरै संघर्ष र कठिनाइ पार गरेर कार्यक्रमस्थलसम्म आउनुपर्ने अवस्था अझै कायम रहेको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिका आवश्यकता अनुसार योजना तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देलले वडालाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनप्रतिनिधिहरू विभिन्न आरोप र आलोचनाका बीच पनि निरन्तर काम गरिरहेको बताउँदै उहाँले ज्येष्ठ नागरिक कक्ष निर्माण तथा अपाङ्गमैत्री संरचना निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । साथै, आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको तयारी भइरहेका बेला अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, असहाय तथा महिला–जनजातिका विषय कसरी समेट्ने भन्नेबारे सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिलाई अनुदानको व्यवस्था गर्न, आवश्यक योजनाहरू कार्यान्वयन गर्न तथा उपमहानगरपालिका लगायतका सरकारी निकायमा अपांगता तथा अशक्त व्यत्तिःको लागि सहयोगी उपलब्ध गराउन माग गरेका थिए । साथै हुप्रचौर क्षेत्रको गेट बन्द हुँदा अपांगता भएका व्यक्तिहरु समस्यामा परेकोले गेट बन्द नगर्न आग्रह गरेका छन् ।
छलफलबाट उठेका सुझाव तथा मागहरू समेटेर बागमती प्रदेशका मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिएको अपांग उत्थान समाजले जनाएको छ ।














