हेटौंडाका पसलहरुमा जिल्ला प्रशासनका टोलीको अनुगमन

मूल्य सूची राख्न निर्देशन
संवाददाता
५ जेष्ठ २०८३, मंगलवार १७:२९

५ जेठ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले हेटौंडा भित्रका पसलहरुमा अनुगमन गरेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहितको नेतृत्वको टोलीले हेटौंडा भित्र सञ्चालनमा रहेका विभिन्न पसलहरुको अनुगमन गरेका हुन् । प्रशासन कार्यालयका प्रमुख बसन्त अधिकारी, सहायक जिल्ला अधिकारी मोहनराज जोशी, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली लगायतको सहभागितामा पसलहरु अनुगमन गरिएको हो । बुद्धचोक नजिकको खाद्यान्न फलफूल पसलहरु, किराना पसलहरु, मोबाइल पसलहरु, गरगहनाको पसलहरु, चप्पल, जुत्ता, फर्निचर पसलहरुको अनुगमन गरिएको थियो । अनुमनको क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले सामानहरुको जाँच गर्दै पसलका सञ्चालकहरुलाई विक्री गर्नका लागि राखिएको सामाग्रीहरुमा मूल्य सूची राख्नका लागि निर्देशन दिनुभयो ।
उहाँले पसलका सञ्चालक तथा कर्मचारीहरुलाई विक्री गर्न राखिएको सामाग्री देखाउँदै कुन सामानको मूल्य कति पर्छ भनेर यकिन गर्नका लागि सामानमा मूल्य सूची राख्न निर्देशन दिनुभएको हो । उहाँले अनुगमन गर्दै अबको समयबाट सामानमा अनिवार्य रुपमा मूल्य सूची नराखे पसलले ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको जरिवान तिर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार यो पहिलो पटकको अनुगमन भएको कारणले सबैलाई एक पटक मौका दिएकोले अर्को पटक कसैले पनि कुनै प्रकारको मौका पाउने छैनन् । अनुगमनको क्रममा उहाँले अदालतको आदेशको कारण सडक विस्तारको कार्य रोकिएको पनि व्यवसायीलाई स्मरण गराउनुभयो । यस अघि पनि प्रशासनका टोलीले हेटौंडाका विभिन्न ठाउँहरुमा अनुगमन गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*