१० महिनाको अवधिमा २ हजार ७ सय ३७ किलोग्राम लागूऔषध गाँजा बरामद
६ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन मार्फत कार्यालयले उक्त अवधिमा गरेका गतिविधि तथा काम कारबाहीको विवरण सार्वजनिक गरेको हो । प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले सार्वजनिक गर्नुभएको तथ्यांकअनुसार १० महिनाको अवधिमा प्रहरीले २ हजार ७ सय ३७ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ । यस अवधिमा १ सय २१ किलो ४ सय ३० ग्राम चरेश, २८ किलो अफिम तथा २ सय ७ ग्राम खैरो हेरोइन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले २७ हजार ६ सय ३१ क्याप्सुल ट्रामाडोल बरामद गरेको छ ।
लागूऔषध ओसारपसारमा संलग्न ३ सय ६ जनालाई पक्राउ गरिएको तथा प्रयोग भएका ३४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत कारबाही, जरिवाना तथा कैदमार्फत प्रहरीले ४४ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । यस्तै २२ लाख २६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामग्री बरामद गरिएको प्रहरी प्रमुख खत्रीले जानकारी दिनुभयो । साउनदेखि वैशाखसम्म मकवानपुरमा ९२ वटा मोटरसाइकल चोरी भएकोमा प्रहरीले १६ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण अन्तर्गत प्रहरीले हालसम्म एउटा स्काभेटर, २० वटा टिपर र १ सय १ वटा ट्र्याक्टरमाथि कारबाही गरेको छ ।
ती सवारीसाधनबाट ९ लाख ७३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । मंगलबार मात्रै एउटा स्काभेटर नियन्त्रणमा लिई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरी प्रमुख खत्रीले बताउनुभयो । मादक पदार्थ सेवन गरी सवारी चलाउने ४ सय जनामाथि कारबाही गर्दा २ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । लागूऔषध सेवन गरि सवारी चलाउने ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रविधिको विकाससँगै मकवानपुरमा साइबर अपराधका घटना पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । साउनदेखि वैशाखसम्म २ सय ५५ वटा अनलाइन ठगी तथा स्क्याम सम्बन्धी घटना दर्ता भएका छन् । यस अवधिमा फेसबुक ह्याकका १६, फेक फेसबुक आइडीका १९ तथा टिकटक लगायत सामाजिक सञ्जालमार्फत भएका १५ वटा अपराधका घटना दर्ता भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी हराएका तथा चोरी भएका ५ सय ८१ मोबाइलमध्ये १ सय ५ वटा मोबाइल फेला पारिएको छ । घरेलु हिंसाका ४ सय ७ वटा घटना दर्ता भएकोमा ३ सय २८ वटा मिलापत्र गरिएको प्रहरीले जनाएको छ । ३४ वटा घटनालाई सम्बन्धित निकायमा पठाइएको तथा १७ वटा घटनाको फस्र्योट हुन बाँकी रहेको जानकारी दिइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले ७ सय ९ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।














