भीमफेदीमा ११६ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
१७ वैशाख, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले १ सय १६ अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्ष २०८२÷०८३ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट यस वर्ष ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी १ सय १६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँ, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आबद्धता भएका मजदुरहरुलाई परिचय पत्र वितरण गर्नुभएको थियो ।
गाउपालिकाले हालसम्म ३ सय ११ जना असंगठीत क्षेत्रका मजदुरहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता सेवा सुविधा प्राप्त गर्नेछन् । पहिले उपचारमा करिब १० हजार रुपैयाँसम्म खर्च हुने अवस्था रहे पनि अहिले कोषमा आवद्ध भएपछि करिब २ हजार रुपैयाँमै उपचार सम्भव भएको सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुरको अनुभव छ ।
अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा आवद्ध गराउन गाउँपालिकाले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र गाउँपालिकाको तर्फबाट ९ दशमलब ३५ प्रतिशत थप गरी कुल २० दशमलब ३५ प्रतिशत अर्थात मासिक २ हजार ४ सय ७९ रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको छ । भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग २०८० साउन ३० गते सम्झौता गर्दै कार्यक्रम अघि बढाएको थियो ।
गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने नेपालकै पहिलो गाउँपालिका तथा बागमती प्रदेशकै अग्रणी स्थानीय तहका रूपमा स्थापित भएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।














