११ महिनादेखि हेटौंडा सिमेन्ट उद्योगका कर्मचारी तलब विहिन
२२ वैशाख, हेटौँडा । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगका मजदुर तथा कर्मचारी ११ महिनादेखि तलबविहीन बनेका छन् ।
लामो समयदेखि उद्योग प्रशासनले पारिश्रमिक भुक्तानी गर्न नसक्दा मजदुर तथा कर्मचारीको दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । मजदुरहरूका अनुसार १८ महिनादेखि सञ्चय कोष, १५ महिनादेखि नागरिक लगानी कोष र एक वर्षदेखि कर (ट्याक्स रिटर्न) वापत तलबबाट कट्टा गरिएको रकम समेत सम्बन्धित निकायमा जम्मा गरिएको छैन । त्यसैगरी, एक वर्षदेखि सट्टा बिदा उपलब्ध नगराइएको र तीन वर्षदेखि कर्मचारीको बीमा सुविधा नवीकरण नभएको गुनासो उनीहरूको छ ।
उद्योगमा स्वीकृत दरबन्दीको करिब ३० प्रतिशत जनशक्तिले मात्र काम गरिरहेका छन् । अतिरिक्त समयमा काम गरेबापत ३२ महिनासम्मको ज्यालासमेत नपाएको मजदुरहरूले बताएका छन् । पारिश्रमिक नपाउँदा धेरै मजदुर ऋणमा डुबेका छन् भने उपचार गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।
उद्योगका ६५ जनाभन्दा बढी अवकाशप्राप्त कर्मचारीले अझै उपदान पाएका छैनन् । २०७९ सालमै अवकाशप्राप्त अमर सुनारले सेवा–सुविधा नपाउँदा आफू र परिवार गम्भीर समस्यामा परेको बताउनुभयो । उपचार अभावकै कारण परिवारका सदस्य गुमाउनुपरेको उहाँले बताउनुभयो । अवकाशपछि पाउनुपर्ने रकम नपाएपछि हाल दुई महिनादेखि उद्योगमै ज्यालादारीमा काम गरिरहनुभएको छ । उद्योगले त्यसबापतको रकमसमेत भुक्तानी हुन सकेको छैन ।
मजदुरहरूले आफ्ना माग राख्दै उद्योगका निमित्त महाप्रबन्धक शिव नारायण साहलाई मंगलबार ध्यानाकर्षणपत्र समेत बुझाएका थिए । उद्योग अपेक्षित रफ्तारमा सञ्चालन हुन नसक्दा तलब भुक्तानीमा समस्या भएको निमित्त महाप्रबन्धक साहले बताउनुभयो । उद्योगले विभिन्न सप्लायर्स, कर्मचारीलगायतलाई करिब एक अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उहाँले बताउनुभयो ।

हाल उद्योगमा ४ हजार ९ सय मेट्रिक टन क्लिन्कर मौज्दात रहे पनि कोइलाको अभावका कारण उत्पादन प्रभावित भएको उद्योगले जनाएको छ । कोइला खरिदकै करिब ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कोइला सकिएपछि उद्योग वैशाख ३ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ । यस आर्थिक वर्षमा हालसम्म १९ दिन मात्र उद्योग सञ्चालनमा आएको छ । आर्थिक वर्ष ०८१÷०८२ मा समेत ४० दिन मात्र सञ्चालनमा आएको थियो । आर्थिक वर्ष २०७५÷०७६ देखि निरन्तर घाटामा सञ्चालन हुँदै आएको उद्योग कच्चा पदार्थ कोइला र जिप्सन खरिद गर्न नसक्दा पटक–पटक बन्द हुँदै आएको छ । २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगको दैनिक ७५० टन सिमेन्ट उत्पादन क्षमता भए पनि पछिल्लो सात वर्षदेखि क्षमताअनुसार उत्पादन हुन सकेको छैन ।














