हेटौंडामा मानव अधिकार सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
२९ वैशाख, हेटौँडा । हेटौंडामा मानव अधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मंगलबार कार्यक्रम गरिएको हो । कार्यक्रममा संविधान र मानव अधिकारबीचको सम्बन्ध, संयुक्त राष्ट्रसंघद्धारा सन् १९४८ डिसेम्बर १० मा तयार पारेको दस्तावेजमा उल्लेखित विषय, मानव अधिकार आयोगको भूमिका, म्यान्डेट तथा आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्थाबारेको अवस्था लगायतकामा छलफल गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले मानव अधिकार कुनै एक समय वा स्थानमा सीमित हुने विषय नभई निरन्तर अभ्यास गरिनुपर्ने विषय भएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार विकाससँगै मानव अधिकारजस्तो संवेदनशील क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । साथै स्थानीय तह र प्रदेश सरकारका मन्त्रालयहरूले मानव अधिकारको क्षेत्रमा बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले आगामी बजेट तयारीमा यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले मानव अधिकारको अर्थ आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन हुन नदिनु पनि भएको स्पष्ट पार्नुभयो । साथै मानव अधिकार देश, काल र परिस्थितिअनुसार केही फरक रूपमा व्याख्या हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मानव अधिकार केवल कानूनी विषय मात्र नभई सामाजिक न्याय स्थापना र लोकतन्त्र सुदृढ गर्ने ‘क्रस–कटिङ’ विषय भएको बताउनुभयो । उहाँले प्रत्येक व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारप्रति पनि सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर साहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार आयोग, इन्सेक, गैसस बागमती प्रदेश लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।














