खानेपानी अभाव हुन नदिन दीर्घकालीन योजना अघि बढाइएको छः नगर प्रमुख लामा
८ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले हेटौंडामा स्वच्छ खानेपानी वितरणका लागि खानेपानी व्यवस्थापन बोर्डले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
बोर्डको १३ औं वाषिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले मेयरहरु खानेपानीको लागि पाइप नै बोकेर हिडिरहेको र मन्त्रालय धाइरहेको अवस्थामा हेटौंडामा भने बोर्डको काम उत्कृष्ट रहेको बताउनुभयो । नगरबासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउनु उपमहानगरको दायित्व भएको उहाँको भनाई छ । नगर प्रमुख लामाले उपमहानगरपालिकाबाट दिइँदै आएको अनुदान कटौतीको विषय संघीय सरकारको निर्देशनअनुसार कार्यान्वयन गरिएको स्पष्ट पार्नुभयो ।
बोर्ड र उपमहानगरपालिकाबीचको समन्वयमा सञ्चालन भएका खानेपानी व्यवस्थापनका काम नमूनायोग्य बनेको उहाँले उल्लेख गर्नुभयो नगरप्रमुख लामाले शून्य चुहावट तथा ढल व्यवस्थापनका लागि योजना निर्माणको चरणमा रहेको जानकारी दिँदै आगामी ५० वर्षसम्म हेटौंडामा खानेपानी अभाव हुन नदिने गरी दीर्घकालीन योजना अघि बढाइएको बताउनुभयो । उहाँले खानेपानी क्षेत्रसँग सम्बन्धित करोडौँ रुपैयाँ बराबरका पूर्वाधार निर्माणको काम समेत अगाडि बढिरहेको जानकारी दिनुभयो ।
त्यसैगरी, कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप विष्टले बोर्डले पानी उत्पादन तथा वितरणको काम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताउनुभयो । हालसम्म १७ वटा उपभोक्ता समिति बोर्डमा समाहित भइसकेको र अझै करिब ४० वटा उपभोक्ता समितिमार्फत उपमहानगर क्षेत्रमा खानेपानी वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । संघीय सरकारको सहयोगमा ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्रयोगशालामार्फत नियमित रूपमा पानीको गुणस्तर परीक्षण हुँदै आएको उहाँले बताउनुभयो । परीक्षणका आधारमा हेटौंडा क्षेत्रमा वितरण हुने पानी धाराबाटै सिधै पिउन योग्य रहेको उहाँले दाबी गर्नुभयो ।

बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले बोर्डको प्रगति विवरण प्रस्तुत गर्दै हाल हेटौंडाका १९ वडामध्ये वडा नम्बर १२ र १३ बाहेक १७ वडामा सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार करिब १ लाख ७० हजार नागरिकलाई २९ हजार ७ सय ९ वटा धारामार्फत दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण भइरहेको छ । नगरको मुख्य बजार क्षेत्रमा भने २४ सै घण्टा पानी वितरण भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाई, बोर्ड सदस्य डा. कृष्ण धिताल तथा हेटौंडा उपमहानगरपालिका वातावरण सुधार समन्वय समितिका अध्यक्ष धुब्र अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा बोर्डले अनुशासन, कार्यसम्पादन मूल्याङ्कन र कामप्रतिको लगनशीलतालाई आधार मानी उत्कृष्ट कर्मचारीलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरेको छ । सम्मानित हुने कर्मचारीमा नमुना पण्डित, अजय थिङ, दिपेन्द्र महत, पुष्पा पौडेल पाण्डे, समि श्रेष्ठ, गोविन्दबहादुर थपलिया, डिलबहादुर योञ्जन र तिलकबहादुर श्रेष्ठ रहेका छन् ।














