अतिक्रमण गरी बनाइएका संरचना हटाउन सार्वजनिक सूचना जारी

संवाददाता
८ जेष्ठ २०८३, शुक्रबार १९:०७

८ जेठ, हेटौँडा । हेटौंडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रले आफ्नो स्वामित्वको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
केन्द्रले तेस्रो पटक सूचना प्रकाशित गर्दै ७ दिनभित्र अतिक्रमित करिब ४ कठ्ठा क्षेत्रफल खाली गर्न निर्देशन दिएको हो । हेटौंडा उपमहानगरपालिका–५ मा रहेको केन्द्रको नाममा दर्ता भएको कित्ता नम्बर ९६ को जग्गामा केही व्यक्तिहरुले अनधिकृत रुपमा घर, टहरा, होटल, रेष्टुरेन्ट लगायतका संरचना निर्माण गरेको जनाइएको छ ।
उक्त जग्गा माछाको आहारा व्यवस्थापनका लागि केरा, मकै, भटमासका साथै उन्नत्र घाँसहरु नेपीयर, सुडान, बदामे, परा, ढैंचा लगायतको लगाउनुपर्ने भएकाले संरचना हटाउन लागिएको केन्द्रले जनाएको छ । वरिष्ठ मत्स्य विकास अधिकृत सरोज कुमार यादवद्वारा जारी सूचनामा जग्गा हाल भोगचलन गर्नेहरु ६ जनाको नाम समेत उल्लेख गरिएको छ । केन्द्रले तोकिएको समयभित्र संरचना नहटाए नियमानुसार केन्द्र आफैंले हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने सूचनामा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*