हेटौंडा सिमेन्टका कर्मचारीहरुको तलब क्रमिक रुपमा भुक्तानी गर्ने सहमति
९ जेठ, हेटौँडा । हेटौंडा सिमेन्ट उद्योगले कर्मचारी तथा कामदारहरूको बक्यौता तलब भत्ता क्रमिक रूपमा भुक्तानी गर्ने सहमति गरेको छ ।
उद्योग व्यवस्थापन र कर्मचारीबीच जेठ ८ गते भएको सहमतिअनुसार उद्योगमा मौज्दात क्लिंकरबाट उत्पादन हुने सिमेन्ट बिक्रीबाट प्राप्त रकममार्फत बक्यौता रकम भुक्तानी गरिने भएको हो । उद्योगले जारी गरेको सूचनाअनुसार विगत ११ महिनादेखि तलब भत्ता, अतिरिक्त समय कार्य भत्ता लगायतका आर्थिक सुविधा उपलब्ध गराउन नसकिएको अवस्थामा कर्मचारीहरूसँग सहमति गरिएको जनाएको छ । हेटौंडा सिमेन्ट उद्योगका कर्मचारीले लामो समयदेखि तलब नपाएको विषयमा टिम टेलिभिजनले समाचार प्रसारण गरेको थियो ।
समाचार प्रसारणपछि लामो समयदेखि चरणबद्ध आन्दोलनमा रहेका कर्मचारीहरूको बक्यौता भुक्तानीको विषय थप चर्चामा आएको हो । सहमतिअनुसार २०८२ चैत र २०८३ बैशाख महिनामा अतिरिक्त समय काम गरे वापतको रकमसँगै एक महिनाको तलब भत्ता भुक्तानी गरिनेछ । यस्तै २०८१ मंसिरदेखि २०८२ फागुनसम्मको अतिरिक्त समय कार्य वापतको रकम पनि भुक्तानी गरिने उद्योगले जनाएको छ । त्यसैगरी सम्पूर्ण कामदार, सुरक्षाकर्मी तथा कर्मचारीलाई थप एक महिनाको तलब भत्ता उपलब्ध गराइने उल्लेख छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा तलबबाट कट्टा गरिएको सञ्चय कोष, नागरिक लगानी कोष तथा अन्य शीर्षकका बाँकी रकमसमेत सम्बन्धित निकायमा भुक्तानी गरिने सहमतीपत्रमा जनाइएको छ । निमित्त महाप्रबन्धक शिव नारायण साहद्वारा जारी सूचनामा हालको असहज परिस्थितिमा पनि आ–आफ्नो शाखा तथा विभागबाट नियमित रूपमा काम सम्पादन गरी उद्योग सञ्चालनमा सहयोग गर्न सबै कर्मचारीसँग आग्रह गरिएको छ । उद्योगका मजदुर तथा कर्मचारी ११ महिनादेखि तलबविहीन छन् ।
मजदुरहरूको १८ महिनादेखि सञ्चय कोष, १५ महिनादेखि नागरिक लगानी कोष र एक वर्षदेखि कर (ट्याक्स रिटर्न) वापत तलबबाट कट्टा गरिएको रकम समेत सम्बन्धित निकायमा जम्मा गरिएको छैन । उद्योगले विभिन्न सप्लायर्स, कर्मचारीलगायतलाई करिब एक अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । हाल उद्योगमा ४ हजार ९ सय मेट्रिक टन क्लिन्कर मौज्दात रहे पनि कोइलाको अभावका कारण उद्योग वैशाख ३ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ ।














