तिनपाङ्ग्रे अटो तथा विद्युतीय सवारी साधन व्यवस्थापनमा कडाई
२८ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुँदै आएका तिनपाङ्ग्रे अटो तथा विद्युतीय सवारी साधन व्यवस्थापनमा कडाइ गर्ने भएको छ ।
उपमहानगरपालिकाले सूचना जारी गर्दै २०७६ साल भन्दा पछाडी दर्ता भएका तीन पाग्रे सवारी सञ्चालन गर्न निषेध गरिने जनाएको छ । उपमहानगरपालिकाका अनुसार हाल स्टिकर टाँस गरी सञ्चालन अनुमति प्राप्त तीनपाङ्ग्रे सवारी साधनको संख्या २ हजार ३५ रहेको छ । तर विभिन्न गाउँपालिका तथा बाहिरी जिल्लाबाट आएर अनुमति बिना सञ्चालन भइरहेको अटोहरूको संख्या बढेपछि नियन्त्रणका लागि कडाइ गरिएको जनाइएको छ ।
सूचनामा उल्लेख भएअनुसार तीनपाङ्ग्रे सवारी साधन व्यवस्थापन सम्बन्धी नीति, नियम तथा कानुनी व्यवस्था निर्माणको प्रक्रिया अघि बढिरहेको छ । साथै आगामी दिनमा विद्युतीय सवारी साधनलाई व्यवस्थित बनाउन एक्सचेन्ज प्रणाली मार्फत व्यवस्थापन गरिने तयारीसमेत भइरहेको जनाइएको छ । उपमहानगरपालिकाले अनुमति नलिएका तथा स्टिकर नभएका सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीसँगको समन्वयमा अनुगमन गरी नियन्त्रणमा लिई कार्वाहीको दायरामा ल्याइने चेतावनी दिएको छ ।
यस्तै, बजारमा विभिन्न कम्पनीहरूले रातो नम्बर प्लेटको प्रलोभन देखाएर अटो बिक्री गरिरहेको गुनासो आएपछि उपमहानगरपालिकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । अनुमति नलिई सञ्चालन गर्न नमिल्ने भएकाले यस्ता सवारी साधन खरिद गर्दा विशेष सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरिएको छ ।
उपमहानगरपालिकाले सूचना अवज्ञा गरी सवारी साधन खरिद वा सञ्चालन गरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले स्वयं वहन गर्नुपर्ने स्पष्ट पारेको छ । उपमहानगरपालिकाले तिनपाँग्रे विद्युतीय तथा अटो मेकानिक्स सवारी साधनको संख्या एकिन गरि २०७६ साल पौष ६ गतेदेखि हरेक वर्ष स्टिकर टाँस गरेर मात्रै सञ्चालन अनुमति दिदै आएको छ ।














