बागमती प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश
११ जेठ, हेटौँडा । बागमती प्रदेशसभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार आगामी आर्थिक वर्ष २०८३÷०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको क्षेत्र (कर बाहेक) सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । प्रदेश सरकारले उत्पादन, रोजगारी, सुशासन र डिजिटल रूपान्तरणलाई केन्द्रमा राखेर बजेट ल्याइने मन्त्री तामाङले बताउनुभयो । उहाँका अनुसार सिद्धान्त तथा प्राथमिकतामा आर्थिक अनुशासन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि आधुनिकीकरण, उद्यमशीलता, पर्यटन, सामाजिक न्याय तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
मन्त्री तामाङले दिगो विकास लक्ष्यसँग सामञ्जस्य हुने गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणलाई बजेटको मुख्य उद्देश्य बनाइएको बताउनुभयो । वर्तमान आर्थिक शिथिलता, आन्तरिक राजश्वमा आएको संकुचन तथा उत्पादन क्षेत्रमा देखिएको मन्दीलाई सम्बोधन गर्न खर्च व्यवस्थापनमा कडाइ गरिने मन्त्री तामाङले जानकारी दिनुभयो । मन्त्री तामाङका अनुसार विगतमा पहुँच र प्रभावका आधारमा बजेट विनियोजन हुने प्रवृत्तिलाई नियन्त्रण गर्दै आयोजना बैंकको पूर्ण कार्यान्वयन मार्फत योजना छनोटलाई व्यवस्थित बनाइने बताइएको छ ।
त्यसैगरी प्रदेश सरकारले डिजिटल रूपान्तरणलाई आगामी बजेटको प्रमुख आधार बनाएको छ । “विकासको आधारः प्रविधि र सुशासनमार्फत सेवा विस्तार” भन्ने अवधारणालाई आत्मसात् गर्दै सार्वजनिक सेवा प्रवाहलाई सरल, छरितो, प्रभावकारी तथा नागरिकमैत्री बनाइने योजना अघि सारिएको छ । सरकारले नागरिकसँग प्रत्यक्ष जोडिएका सेवाहरूलाई क्रमिक रूपमा अनलाइन प्रणालीमा लैजाने तयारी गरेको छ । प्रदेश सरकारले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने नीति लिएको मन्त्री तामाङले बताउनुभयो ।
प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘गरीखानेलाई बागमतीमै अवसर’ भन्ने नारासहित उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम ल्याउने भएको छ । सार्वजनिक खर्च व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता तथा वित्तीय सुशासन कायम गर्न अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई थप सुदृढ बनाइने भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण प्रणालीलाई समयबद्ध, प्रभावकारी तथा परिणाममुखी बनाइने मन्त्री तामाङले बताउनुभयो ।
प्रदेशसभामा प्रस्तुत सिद्धान्त तथा प्राथमिकताले उत्पादन, रोजगारी, सुशासन र समृद्धिलाई सुदृढ बनाउँदै प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने मन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि मंगलबार बिहान ११ बजेदेखि बस्ने बैठकमा छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा बाट प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ ।














