मकवानपुर जिल्लामा सञ्चालित परियोजनाको सामाजिक परीक्षण सम्पन्न
९ वैशाख, हेटौँडा । दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवद्र्धन परियोजनाको सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ ।
दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुर जिल्लामा सञ्चालन गरिएको उक्त परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । दातृ निकाय फाउन्डेसन फर जस्ट सोसाइटीको सहयोगमा सञ्चालित परियोजनाको सामाजिक परीक्षण कार्यक्रम दलित महिला संघ (फेडो) को आयोजनामा जिल्ला समन्वय समिति सभाहलमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा गरिएको हो ।
सन् २०२३ देखि कार्यान्वयनमा आएको तीनवर्षीय परियोजनामा २१ वटा दलित समूहका ५ सय ५१ सदस्य, २५ जना दलित महिला अगुवा अभियन्ता तथा दुई वटा महिला साझा सञ्जालका ३१ जना प्रत्यक्ष सहभागी रहेका छन् । त्यसैगरी, परियोजनासँग सम्बन्धित दुई वटा दलित महिला समूह र दुई वटा किशोरी सञ्जालमार्फत ४५ जना बालबालिका पनि प्रत्यक्ष रूपमा सहभागी भएका छन् । परियोजनाका द्वितीय सहभागीका रूपमा धर्मगुरु, पत्रकार, गैरदलित समुदायका महिला तथा बालबालिका, सरकारी निकाय, क्रसकटिङ सवालमा संलग्न सरोकारवाला निकाय, विद्यालय तथा शिक्षकहरू रहेका छन् ।
सहकार्य, निरन्तरता र दिगोपनालाई कार्यरणनीति बनाएको परियोजनाले स्थानीय तहमा सार्वजनिक संवाद तथा अन्तरक्रिया, प्रदेशस्तरीय कार्यक्रम, अन्तर्राष्ट्रिय महिला दिवस तथा जातीय छुवाछुत तथा भेदभावविरुद्धका अन्तर्राष्ट्रिय दिवसहरूमा विविध कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । त्यसैगरी, परियोजनाअन्तर्गत धर्मगुरुसँग अन्तरक्रिया, विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप, अगुवा अभियन्ता बैठक, जनप्रतिनिधि तथा अभियन्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम तथा कानुनी सहायता समेत प्रदान गरिएको जनाइएको छ ।
यस्तै, हिंसापीडितलाई परामर्श सेवा, उद्यमशीलता प्रवद्र्धनका लागि तालिम, व्यवसाय सुरु गर्न सहयोगस्वरूप १० समूहलाई ६ लाख रुपैयाँ तथा २० समूहलाई ५ लाख रुपैयाँ म्याचिङ फन्ड उपलब्ध गराइएको छ । यसैगरी, संस्थाले ३० वटा महिला समूहलाई बीउपूँजी तथा म्याचिङ फन्डका रूपमा २१ लाख २० हजार रुपैयाँ प्रदान गरेको प्रतिवेदनमा जनाइएको छ । यस्तै, कुल २५ लाख ८९ हजार रुपैयाँ बचत संकलन भएको छ । दलित महिलाको आयआर्जनमा वृद्धि गर्न नियमित तथा घुम्ती कोषमार्फत ऋण परिचालन गरिँदा ७२ जना आयआर्जनमा संलग्न भएका छन् भने १ सय ५२ जना महिलाले उद्यम विकास तथा व्यवसाय विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । परियोजनाबाट सामाजिक क्रियाकलापमा दलित महिलाको सहभागिता बढ्दै गएको जनाइएको छ । सहकारी, खानेपानी तथा विद्यालय व्यवस्थापन समिति लगायतका क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि भएको छ । दलित महिलाका मुद्दाप्रति स्थानीय सरकार अझ संवेदनशील बन्दै गएको वडा नम्बर ३ की सदस्य देवकी विकले बताउनुभयो ।
परियोजनामा आबद्ध भएपछि आएको परिवर्तनबारे अनुभव सुनाउँदै अनिता विकले क्षमता अभिवृद्धि कार्यक्रम, प्रतिवेदन लेखन तालिम तथा बोल्ने सीपमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उक्त परियोजना मकवानपुरको बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सञ्चालन हुँदै आएको छ भने राक्सिराङ र मनहरी गाउँपालिकामा समेत समूह विस्तार गरिएको छ । परियोजनाका लागि ८४ लाख ३ हजार बजेट रहेकोमा ७३ लाख ३५ हजार खर्च भएको जनाइएको छ । फेडो मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, कार्यपालिका सदस्य इश्वरी रसाइली तथा वडा सदस्य रीता मग्राती लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।














