‘मध्य पृतनापति ट्रफी–२०८३’ को उपाधि श्री नम्बर ७ वाहिनी अड्डालाई
२८ वैशाख, हेटौँडा । मध्य पृतना हेडक्वार्टर, हेटौंडाको आयोजनामा सञ्चालित ‘मध्य पृतनापति ट्रफी–२०८३’ को उपाधि श्री नम्बर ७ वाहिनी अड्डाले जितेको छ ।
वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गतका विभिन्न खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै मकवानपुरको चनवनस्थित ७ नम्बर वाहिनी प्रथम बन्न सफल भएको हो । उक्त वाहिनीले ३८ स्वर्ण, ४२ रजत र ५५ कास्य गरी कुल १३५ पदक जित्दै च्याम्पियन बनेको हो । ७ नम्बर वाहिनी अन्तर्गतको गोरखबहादुर गणले भलिबल, बक्सिङ, एथ्लेटिक्स, जुडो र फुटबलमा विजेता बन्दै २९ स्वर्ण, १७ रजत र २५ कास्य पदक हात पारेको छ । त्यसैगरी नयाँ सबुज गणले ७ स्वर्ण, २१ रजत र २३ कास्य जितेको छ भने तेक्वान्डोमा विजेता बनेको नयाँ गोरख गणले २ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको छ
प्रतियोगितामा दोस्रो स्थानमा रहेको श्री नम्बर ६ वाहिनी अड्डाले ३४ स्वर्ण, ४० रजत र ५५ कास्य गरी कुल १२९ पदक जितेको छ । स्विमिङ र बास्केटबलको विजेता ६ नम्बर वाहिनी अन्तर्गतको श्री शेर गणले २६ स्वर्ण, २३ रजत र ३० कास्य पदक जितेको छ । यस्तै, श्री नाथ गणले ३ स्वर्ण, ९ रजत र १० कास्य तथा श्री भैरव गणले ५ स्वर्ण, ८ रजत र १५ कास्य पदक हात पारेका छन् ।
प्रतियोगितामा विजयी वाहिनी, गण, खेलाडी तथा निर्णायकहरूलाई मध्य पृतना हेटौंडाका पृतनापति विष्णुकुमार खड्का, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सञ्जयकुमार यादवलगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गरेका थिए ।
पृतनापति ट्रफी अन्तर्गत भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, तेक्वान्डो, जुडो, बक्सिङ र एथ्लेटिक्स गरी ८ विधामा प्रतिस्पर्धा गराइएको थियो । विभिन्न खेलका प्रतिस्पर्धा सम्बन्धित गण तथा वाहिनीहरूमा सञ्चालन गरिएको थियो । समापनका अवसरमा सोमबार सुपारेटार ब्यारेकको खेलमैदानमा फुटबलको फाइनल खेल आयोजना गरिएको थियो । उक्त खेलमा ७ नम्बर वाहिनी अन्तर्गतको गोरखबहादुर गणले ६ नम्बर वाहिनीको शेर गणलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगितामा ६ नम्बर बाहिनी र ७ नम्बर बाहिनी अड्डा अन्तर्गतका विभिन्न युुनिटका एक सय महिला सहित ५ सय ५० जना खेलाडी सहभागी थिए । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुले आगामी प्रधानसेनापति ट्रफीमा सहभागिता जनाउनका लागि क्लोज क्याम्पमार्फत् प्रशिक्षण दिइनेछ ।














