सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण, हे.क्वा मकवानपुरले स्थापना दिवस मनायो
२६ वैशाख, हेटौँडा । सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण, हे.क्वा. मकवानपुरले आफ्नो १६ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।
हेटौँडा ८ स्थित कपडा उद्योगमा रहेको गणले सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण गढिमाई मुख्यालयका प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले सशस्त्र प्रहरी बल विशेष तथा विषम परिस्थितिमा स्थापना भएको उल्लेख गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बललाई विशेष प्रकृतिको फौजका रूपमा स्थापित गरिएको र सीमाको सुरक्षा पहिलो प्राथमिकतामा राखेर कार्य भइरहेको बताउनुभयो । नायव महानिरीक्षक पोखरेलका अनुसार २०६५ सालदेखि सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालित हुँदै आएको छ । नेपाल सरकारले ५ सय सीमा पोस्ट स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २६० वटा पोस्ट स्थापना भइसकेका छन् । हाल एक तिहाइ सशस्त्र प्रहरी जनशक्ति सीमा सुरक्षामा परिचालित रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले आन्तरिक सुरक्षाको अवस्था सीमाको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै आन्तरिक सुरक्षा सुदृढ बनाउन सीमा सुरक्षा मजबुत हुनु आवश्यक रहेकोमा जोड दिनुभयो । त्यस्तै, विपद् व्यवस्थापनमा पनि सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउँदै बागमती प्रदेश सरकारको सहयोगमा ‘रोप र रक क्लाइम्बिङ’ तालिम सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बलले हालसम्म १६० जना गोताखोर जनशक्ति उत्पादन गर्न सफल भएको र यसअघि यस्ता जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था रहेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मनसुनजन्य विपद्का घटनामा सधैं तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले जोखिमलाई ध्यानमा राख्दै विभिन्न तहमा तयारी सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहाय्क प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मी तथा मकवानपुरका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । गणको स्थापना २०६७ साल वैशाख २६ गते हेटौँडास्थित अफिसर्स क्लबमा जिल्ला सुरक्षा बेसका रूपमा गरिएको थियो । पछि २०७५ साल चैतदेखि हेटौँडा कपडा उद्योगको प्रशासनिक भवनमा सञ्चालन हुँदै आएको गण हाल हेटौँडा–८ देवनगरमा स्थानान्तरणको प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हे.क्वा मकवानपुरका गणपति एवम् सशस्त्र प्रहरी उपरीषक निवन कुमार खड्काले जानकारी दिनुभयो ।
जिल्लामा सशस्त्र प्रहरी बलका ६ वटा युनिट सञ्चालनमा रहेका छन् भने धादिङ जिल्लामा समेत जनशक्ति परिचालन गरिएको कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। साथै, उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको तथा वीरगति प्राप्त हवलदार माधव सापकोटाका भाइलाई समेत सम्मान गरिएको थियो ।














