हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर हुने
३० वैशाख, हेटौँडा । पतञ्जली योग समिति अन्तर्गत महिला पतञ्जली योग समिति मकवानपुरले हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन गर्ने भएको छ ।
शिविर यही जेठ ३ गतेदेखि ७ गतेसम्म हेटौंडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्राचौर) मा प्रत्येक बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले शिविरबारे जानकारी दिँदै आधुनिक जीवनशैली, तनाव र अव्यवस्थित खानपानका कारण नसर्ने रोग तीव्र रूपमा बढिरहेको अवस्थामा योगलाई जनस्तरसम्म पु¥याउन शिविर आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार “घरघरमा योग, जनजनमा योग, सबै निरोग, सदा निरोग” भन्ने मूल नारासहित पतञ्जली योग समिति विगत २०६४ सालदेखि मकवानपुरका विभिन्न पालिकामा निःशुल्क योग अभियान सञ्चालन हुँदै आएको छ । शिविरमा मुख्य प्रशिक्षकका रूपमा साद्वी देवादिति रहनुहुनेछ । हरिद्वारस्थित पतञ्जलि योगपीठबाट सन्यास ग्रहण गर्नुभएकी देवादितिले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक शिक्षामा विशेष दक्षता हासिल गर्नुभएको छ ।
आयोजकका अनुसार उहाँले योगमार्फत स्वस्थ जीवनशैली, मानसिक शान्ति र सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण दिनुहुनेछ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको सहकार्यमा सञ्चालन हुन लागेको हो । साथै सह–प्रायोजकका रूपमा थर्डआइ एजुकेशनल सेन्टर प्रा.लि.ले सहयोग गरेको जनाइएको छ ।
आयोजकले योगलाई केवल शारीरिक अभ्यास नभई पूर्ण जीवन पद्धति, मानसिक अनुशासन र सकारात्मक जीवन दर्शनका रूपमा लिन आग्रह गरेका छन् । शिविरमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, व्यवसायी, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी भई स्वास्थ्य लाभ लिन आयोजकले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा समितिका नगर अध्यक्ष रघु आचार्य, युवा अध्यक्ष जयराम पुलामी, कार्यक्रम संयोजक राजन थापा लगायतको उपस्थिति रहेको थियो ।














