गृहमन्त्री सुधन गुरुङद्वारा पदबाट राजीनामा

राजीनामा दिँदै गुरुङले भनेः पदबाट ठुलो नैतिकता होइन
संवाददाता
९ बैशाख २०८३, बुधबार १५:१७

९ वैशाख, हेटौँडा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । लगानीका विषयमा विवाद भएर चौतर्फी आलोचना भएपछि गुरुङको राजीनामा आएको हो ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउनुभएको छ ।
‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उहाँले भन्नुभएको छ, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।’
गुरुङले आफूमाथि पनि यसविषयमा छानबिन होस् भनेर माग समेत गर्नुभयो । उहाँले पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको बताउनुभयो ।
‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नेदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’
उहाँले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको पनि बताउनुभएको छ । ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ,’ गुरुङले भन्नुभयो ‘कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’
शेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारीका बारेमा गुरुङको आलोचना भइरहेको छ । शुरुआती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*