सुकुम्बासीलाई विकासका बाधक होइनन्ः संयोजक प्रचण्ड
२९ वैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गरिब, सुकुम्बासी र निमुखा वर्गलाई विकासको वाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले गरिब र सुकुम्बासीलाई विकासको अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी पनि दिनुभयो । उहाँले बिना योजना र पूर्वतयारी जबरजस्ती सुकुम्बासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमीसम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले आवास र गरिबको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै राज्यको दायित्व उनीहरूको संरक्षण र व्यवस्थापन गर्नु भएको उल्लेख गर्नुभयो ।
सुकुम्बासी समस्या समाधानका लागि भूमिमाथिको स्वामित्व, जीविकोपार्जन र बसोबासको दीर्घकालीन ग्यारेन्टी आवश्यक रहेको उहाँको भनाइ छ । संयोजक दाहालले गरिब, मजदुर, किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । उहाँले जनतालाई विस्थापित गरेर लोकतन्त्रको सुदृढीकरण सम्भव नहुने भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले जनतालाई उठिबास लगाएर लोकतन्त्रको सर्भिसिङ नहुने जिकिर गर्नुभयो ।














