ल्याब सेवा व्यवस्थित बताउँदै हेटौंडा अस्पताल
२० जेठ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालले प्रयोगशाला (ल्याब) सेवा व्यवस्थित र प्रभावकारी बनाउँदै लगेको छ ।
यसअघि दुई–तीन दिनसम्म लाग्ने ल्याब परीक्षणहरू अब छोटो समयमै सम्पन्न गर्न सकिने प्रणाली सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएपछि छिटो, भरपर्दो र गुणस्तरीय प्रयोगशाला सेवा प्रदान गर्ने उद्देश्यले किलिया प्रविधिमार्फत ल्याब परीक्षण सेवा सञ्चालन गरिएको हो । डिजिटल प्रविधिमा आधारित उक्त मेसिनमार्फत एकैपटक करिब ३०० वटा ल्याब परीक्षण गर्न सकिनेछ ।
उक्त मेसिन पूर्ण रूपमा बारकोड प्रविधिमा आधारित रहेको छ । संकलन गरिएको बिरामीको नमूनामा लगाइएको बारकोड स्क्यान गरेपछि मेसिनले आवश्यक परीक्षण आफैं पहिचान गरी प्रक्रिया अघि बढाउने व्यवस्था रहेको अस्पतालका ल्याब इन्चार्ज राजकुमार शर्माले बताउनुभयो ।
बारकोडमा उल्लेख गरिएका परीक्षण मात्र स्वचालित रूपमा सञ्चालन हुने भएकाले परीक्षणका क्रममा हुन सक्ने मानवीय त्रुटि न्यून हुने बताइएको छ । यस मेसिन मार्फत् परीक्षण सुरु भएको करिब ४५ मिनेटभित्र रिपोर्ट आउने भएकाले बिरामीले छिटो सेवा पाउने भएका छन् ।
त्यसैगरी प्रयोगशाला परीक्षणको प्रि–एनालिटिकल, एनालिटिकल र पोस्ट–एनालिटिकल तीनवटै चरणको डिजिटल निगरानी गरिने भएकाले परीक्षणको गुणस्तर थप प्रभावकारी भएको अस्पतालको दाबी छ । अस्पतालले २ सय १५ प्रकारको ल्याब परिक्षण सेवा उपलब्ध गराउँदै आएको छ ।














