हेटौँडामा ‘तुछिमला भैल प्याखँ’ प्रदर्शन

संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १९:३२

१५ जेठ, हेटौँडा । नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले हेटौंडामा करिब ६ सय वर्ष पुरानो ऐतिहासिक तथा सांस्कृतिक ‘तुछिमला भैल प्याखँ’ प्रदर्शन गरिएको छ ।
नेप इभेन्ट्स इन्टरटेनमेन्टको आयोजनामा पहिलो पटक हेटौंडामा नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक ‘तुछिमला भैल प्याखँ’ प्रस्तुत गरिएको हो । ‘हेरिटेजको प्रतिध्वनि’ नारासहित आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । आयोजकका अनुसार ‘तुछिमला भैल प्याखँ’ नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा सामुदायिक एकताको प्रतीकका रूपमा परिचित छ ।
विशेषगरी भक्तपुर को महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा रहेको यो नृत्य विसं १९९० देखि निरन्तर सञ्चालन हुँदै आएको छ । पुस्तान्तरणसँगै अहिले युवा पुस्ताले समेत यसलाई निरन्तरता दिँदै आएका छन् । कार्यक्रमका लागि भक्तपुरबाट कलाकारहरूको टोली हेटौंडा आएको थियो । देवी–देवताप्रति श्रद्धा प्रकट गर्दै समुदायमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले परम्परागत रूपमा यो नाच प्रदर्शन गरिँदै आएको बताइएको छ ।
कार्यक्रम संयोजक निलम वैद्यका अनुसार युवापुस्तालाई सांस्कृतिक संरक्षण र मौलिक परम्पराको जगेर्नातर्फ प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा भैरव, महाकाली, बाराही, दुर्गा देवी, महालक्ष्मी लगायत देवी–देवतासँग सम्बन्धित नृत्य प्रस्तुत गरिएको थियो । साथै खिचा प्याखँ र कवाँचा प्याखँ समेत प्रदर्शन गरिएको थियो । यस नाचमा विभिन्न शक्तिशाली तथा रक्षक देवी–देवताहरूको सांस्कृतिक प्रस्तुति रहने विशेषता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*