“स्वच्छ र वातावरणमैत्री स्मार्ट वडा” अभियान तीव्र
२९ जेठ, हेटौँडा । “स्वच्छ र वातावरणमैत्री स्मार्ट वडा” अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका १० नं. वडा कार्यालयले छलफल कार्यक्रमलाई तीव्रता दिएको छ ।
शुक्रबार स्मार्ट बागमती प्रा.लि.संगको प्राविधिक सहयोगमा वडा कार्यालयले स्थानीय बासिन्दा लगायत सरोकारवालाहरुसंग छलफल गरेको हो । कार्यक्रममा वि.के महर्जनले १० नं. वडाको भौगौलिक अवस्था देखि वर्तमान अवस्था र चुनौतीको विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँका अनुसार मिश्रित फोहोर, सेवा ढिलासुस्ती, हरियालीको कमी, ढल तथा पानी व्यवस्थापन, अव्यवस्थित पूर्वाधार मुख्य चुनौतीको रुपमा रहेको छ । उहाँले छलफल कार्यक्रममा २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालको जनगणनामा वडाको जनसंख्या २ सय २२ जनाले घट्नु चिन्ताको विषयमा भएको बताउनुभयो ।
छलफलका क्रममा वडा क्षेत्रलाई आधुनिक र नमुना वडाका रूपमा विकास गर्न स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको औँल्याइएको थियो । कार्यक्रममा फोहोरमैला व्यवस्थापन, स्रोतमै फोहोर वर्गीकरण, प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण, वृक्षारोपण, सरसफाइ अभियान, खुला स्थान संरक्षण तथा वातावरणीय सचेतना अभिवृद्धि सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । हेटौँडा वडाध्यक्ष फुर्वा दोर्जे लामाले फोहोर व्यवस्थापन देखि शैक्षिक, धार्मिक क्षेत्र, बसपार्कको अवस्थामा सुधार गर्ने कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । स्मार्ट वडा बनाइरहँदा वडा कार्यालयलाई पेपर लेश बनाइने उहाँले बताउनुभयो ।

सहभागीहरूले घरघरमै फोहोर छुट्याउने बानीको विकास, सार्वजनिक स्थलको नियमित सरसफाइ , हरियाली प्रवद्र्धनका लागि सामूहिक पहल, सेवा प्रवाहमा चुस्तता आवश्यक रहेको बताएका थिए । कार्यक्रममा स्मार्ट बागमती प्रा.लि.का अध्यक्ष नवराज खतिवडा, भुटनेदवी सामुदायिक वनका अध्यक्ष सोम लामा लगायतको उपस्थिति रहेको थियो ।














