विभेदकारी विज्ञापन नीतिको विरुद्धमा महासंघको धर्ना

संवाददाता
२७ जेष्ठ २०८३, बुधबार १९:११

२७ जेठ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरमा धर्ना दिएको छ ।
सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारले विभेदकारी नीति अपनाएको विरोधमा नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना कार्यक्रम सञ्चालन गरिएको हो । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा भएको धर्नामा बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, स्वतन्त्र पत्रकार संघका महासचिव सुरेश श्रेष्ठ, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारी लगायत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
सरकारले खर्च कटौतीको बहाना बनाएर संघीय, प्रदेश तथा स्थानीय तहका सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र केन्द्रित गर्ने निर्णय प्रेस स्वतन्त्रता र निष्पक्ष सूचना प्रवाहको सिद्धान्तविपरीत रहेको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा, निजी सञ्चारमाध्यममाथिको विभेद अन्त्य तथा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित विगत दुई महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
सार्वजनिक आन्दोलन कार्यक्रमअनुसार जेठ २९ गते पुनः जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइनेछ भने बागमती प्रदेश समितिको नेतृत्वमा असार १ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेशागत संगठन तथा सरोकारवालाको सहभागितामा वृहत् ऐक्यबद्धता ¥याली आयोजना गरिने गरिने महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*