५३ दिनदेखि हेटौंडा ६ का सुमन साउदी अरबमा प्रहरी हिरासतमा
११ वैशाख । हेटौंडा उपमहानगरपालिका–६ निवासी सुमन दुलाल साउदी अरबमा ५३ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।
वैदेशिक रोजगारीका लागि Cd Human Resources Pvt.Ltd. मार्फत साउदी अरब पुगेका दुलाल त्चTrolley Convenience Store मा कार्यरत थिए ।
परिवारका अनुसार कार्यस्थल नजिकै भएको असामान्य विस्फोटको दृश्य देखेपछि उनले त्यसबारे आफ्ना सुपरभाइजरलाई जानकारी गराउने उद्देश्यले मोबाइलमा भिडियो कैद गरेका थिए । तर, सोही घटनालाई लिएर सुरक्षा नियम उल्लंघन गरेको आरोपमा साउदी प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
अप्रिल १८, २०२६ सम्म आइपुग्दा यो विषय नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसम्म पुगिसकेको भए पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष वा कूटनीतिक पहल सफल हुन नसकेको भन्दै परिवारले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
दुलालकी दिदी रिता दुलालले राज्यको मौनता र प्रभावकारी पहलको अभावका कारण एक निर्दोष नेपाली नागरिक परदेशको हिरासतमा मानसिक तथा शारीरिक रूपमा अत्यन्त पीडित बन्नुपरेको बताएकी छन् ।
उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा उच्च कूटनीतिक संयन्त्रले तत्काल साउदी सरकारसँग सिधा संवाद गरी सुमन दुलालको मानवीय अवस्था, उनको निर्दोष मनसाय र घटनाको वास्तविकता स्पष्ट पार्दै शीघ्र रिहाइको पहल गर्नुपर्ने माग गरेकी छन् ।
“आफ्नो नागरिकको जीवन रक्षाका लागि सरकार अब त गम्भीर बनोस्,” भन्दै उनले सरकारसँग तत्काल हस्तक्षेपको आग्रह गरेकी छन् ।














