कालीमाई मन्दिरमा चैत्र २८ गतेदेखि महायज्ञ हुने

संवाददाता
२५ चैत्र २०८१, मंगलवार १८:५३

२६ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ९ वेतखोल्सास्थित ऐतिहासिक महत्व बोकेको कालीमाई मन्दिरमा श्रीमद् भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक कालिमाई मन्दिर सप्ताह समारोह समितिले महायज्ञबारे जानकारी दिएको छ । चैत्र २८ गतेदेखि मन्दिर परिसरमा महायज्ञ आयोजना गरिन लागेको महायज्ञ प्रचार प्रसार उपसमिति संयोजक जयराम खतिवडाले बताउनुभयो । उहाँका अनुसार, अक्षय कोष श्री वृद्धि तथा पुजारी व्यवस्थापनका लागि महायज्ञ आयोजना गर्न लागिएको हो ।
आर्थिक अभावका कारण दैनिक पूजाआजाका लागि पुजारी व्यवस्थापन गर्न समस्या भएकाले ज्ञान महायज्ञबाट उठेको दक्षिणाले अक्षयकोष निर्माण गरि त्यसैबाट पुजारी व्यवस्थापन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । वैशाख ५ गतेसम्म सञ्चालन हुने महायज्ञमा आचार्य पण्डित यदुकुमार अधिकारीद्वारा श्रीमद् भागवत कथा वाचन हुने बताइएको छ ।
महायज्ञबाट करीब २५ लाख संकलन हुने आयोजकको अनुमान रहेको छ । २ कठ्ठा क्षेत्रफलमा फैलिएको कालिमाई मन्दिर परिसरमा कालिमाई मन्दिर, राधाकृष्ण, लक्ष्मी नारायणको मन्दिर रहेको छ ।
महायज्ञ सम्पन्न गर्नका लागि माधव प्रसाद पौडेलको अध्यक्षतामा विभिन्न समिति, उपसमिति गठन गरिएको छ । पाँच सय भन्दा बढी रकम दान गर्ने दाताहरुलाई विभिन्न सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*