पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण

संवाददाता
२८ चैत्र २०८१, शुक्रबार १७:३६

२९ चैत्र, हेटौँडा । पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनको माग गर्दै पत्रकार महासंघ मकवानपुरले राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा गएको टोलीले शुक्रबार आयोगको कार्यालयमा पुगेर पत्रकार रजकको हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै ध्यानाकर्षण गराएको हो ।
आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई हत्याका विषयमा छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ ।
हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सात दिनभित्र प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानुनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका सञ्चारगृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि नेपाल पत्रकार महासंघले यही चैत १८ गते नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएकोमा सरकारले हालसम्म पनि माग पुरा नगरेको महासंघको ठहर छ ।
ध्यानाकर्षण पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासङ्घले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरेको महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भएदेखि नै निष्पक्ष छानबिन गरिरहेको बताउनुभयो । आयोगले चैत १५ को घटनालाई सूक्ष्म तवरले अनुसन्धान गरिरहेको उहाँको भनाई छ । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उहाँले बताउनुभयो । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरूको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको निमित्त प्रमुख भट्टले बताउनुभयो ।
नेपाल पत्रकार महासंघको केन्द्रिय समितिको सर्कुलर बमोजिम जिल्ला शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*