‘नगर प्रमुखले एसी जोड्न निर्देशन दिएको’ भन्ने समाचारको उपमहानगरपालिकाद्वारा खण्डन
४ वैशाख, हेटौँडा । ‘नगर प्रमुखले एसी जोड्न निर्देशन दिएको’ भन्ने समाचार पूर्णतः तथ्यहीन रहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
हेटौंडा–४ शितलमहल चोक स्थित दी नाइन्टिन सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेशको चौतर्फी विरोध भएको थियो । बिहिबार उपमहानगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दैसमाचारको खण्डन गरेको हो । उपमहानगरमा प्राप्त निवेदनलाई नियम अनुसार दर्ता गरी सम्बोधनको प्रक्रिया मात्र अगाडि बढाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सञ्चार माध्यममा आए झैँ व्यक्तिगत लाभको लागि कुनै बजेट विनियोजन नगरिएको स्पष्ट पारिएको छ । उपमहानगरका प्रवक्ता सविन न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आवश्यकता, औचित्य र कानुनी प्रक्रियाको आधारमा मात्र मागको सम्बोधन गरिने उल्लेख गरिएको छ । हरेक निर्णय सार्वजनिक हित, पारदर्शीता र विधिसम्मत रुपमा लिइने प्रवक्ता न्यौपानेले बताउनुभयो । यसैबीच टिम टेलिभिजनसंग कुराकानी गर्नुहुँदै नगर प्रमुख मिना कुमारी लामाले युवाहरुबाट प्राप्त निवेदनलाई दर्ता सम्म मात्र गरेको बताउनुभयो । आवश्यक पर्ने ठाउँमा निर्देशिका, कार्यविधिले भेटेसम्म सहयोग गर्ने उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले केही समयअघि उद्घाटन गरेको उक्त शैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोहीअनुसार सैलुनका सञ्चालक सुसन घलानले वैशाख ३ गते उपमहानगरपालिकालाई लिखित निवेदन पेश गरेका थिए ।















