पत्रकार सुरेश रजक हत्या प्रकरणका विषयमा सम्पादक तथा प्रकाशकसँग छलफल
५ वैशाख, हेटौँडा । पत्रकार सुरेश रजक हत्या प्रकरणका विषयमा पत्रकार महासंघ मकवानपुरले सम्पादक तथा प्रकाशक सँग छलफल गरेको छ ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल पत्रकार महासंघद्वारा घोषित कार्यक्रम अनुसार जिल्ला शाखाले पत्रकार सुरेश रजकको हत्या प्रकरण र पछिल्लो समय पत्रकारिता माथि भइरहेका आक्रमणका विषयमा शुक्रबार हेटौंडामा सञ्चारकर्मी, सम्पादक, प्रकाशकसँग गम्भीर रुपमा छलफल गरेको हो । पत्रकार महासंघको सभाहलमा भएको छलफलमा सहभागीहरुले आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले हालसम्मका आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै आन्दोलनलाई निचोडमा पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पत्रकारहरू गणतन्त्रका आधार स्तम्भ भएकाले सुरक्षित रुपमा काम गर्न पाउनुपर्नेमा उहाँको जोड थियो ।
यस्तै समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक एवम् स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठले सुरेश रजकमाथिको हत्या मात्र नभइ पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएको घटनाक्रमा समेत गम्भीर बहसको जरुरी रहेको बताउनुभयो । कार्यक्रमका अधिकांश वक्ताहरूले हालको सरकारमा देखिएको दम्भप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सुरेश रजकको हत्या विषयमा राज्यले गम्भिर भएर निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो । अध्यक्ष अधिकारीले पत्रकारले सन्तुलित र तथ्यमा आधारित भएर समाचार लेख्नुपर्नेमा जोड दिँदै महासंघले पत्रकारका समस्या समाधानमा सक्रिय भूमिका खेल्दै आएको दाबी गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष गोविन्द न्यौपाने, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष शिव चौलागाई लगायत विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकको उपस्थिति रहेको थियो ।














