‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ कार्यान्वयन गर्न सम्झौता
५ वैशाख, हेटौँडा । सीमान्तकृत चेपाङ समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक उत्थानका लागि लक्षित ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ कार्यान्वयन गर्न प्रदेश सरकार र कार्यक्रम लागू भएका स्थानीय तहहरूबीच सम्झौता भएको छ ।
सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रमका बिच सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा दोस्रो चरणको कार्यक्रम कार्यान्वयनका लागि ६ वटा स्थानीय तहसँग सम्झौता गरिएको हो । कार्यक्रम २० प्रतिशत स्थानीय तह र ८० प्रतिशत प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुनेछ । गत वर्ष ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि लागि ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । कार्यक्रममा बोल्दै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ लाई प्रदेश सरकारले सशर्त कार्यक्रम अन्तर्गत राखेर बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रम कार्यान्वयनसँगै अनुगमनलाई पनि सँगै लैजानुपर्नेमा उहाँको जोड थियो ।
यसैगरी मन्त्रालयका सचिव बद्रिनाथ गैह्ेले चेपाङ समुदायको सामाजिक रुपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ प्रदेश सरकारले गत वर्षदेखि ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ल्याएको बताउनुभयो । चेपाङ समुदायको आर्थिक संवृद्धि तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयो । मकवानपुरको राक्सिराङ, धादिङको गजुरी, बेनिघाट रोराङ र चितवनको राप्ती, कालिका तथा इच्छाकामना गाउँपालिकामा कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रम अन्तर्गत चिउरीको नर्सरी स्थापना, संरक्षण, वृक्षारोपण, चिउरीको मह र दानाको बजारीकरण, तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारीले जानकारी दिनुभयो । उक्त कार्यक्रमले चेपाङ समुदायको दिगो विकासमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ ।














