मध्य पृतनापति ट्रफीको उपाधि ७ नम्बर बाहिनीलाई

संवाददाता
८ बैशाख २०८२, सोमबार १५:३०

८ वैशाख, हेटौँडा । मध्य पृतनापति ट्रफी –२०८२ को उपाधी मकवानपुरको चनवन स्थित ७ नम्बर बाहिनी अड्डाले जितेको छ ।
बैशाख १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको विभिन्न ८ विधाका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर बाहिनीले उपाधि हात पारेको हो । प्रतियोगिताको अन्तिम दिन सोमबार सुपारीटार ब्यारेक स्थित मैदानमा आयोजित समापन कार्यक्रममा पृतनापनि हरेन्द्र पाठकले च्याम्पियन बन्न सफल बाहिनीका बाहिनीपति कमल बाँनियालाई ट्रफी प्रदान गर्नुभयो ।
७ नम्बर बाहीनीले फुटबल, भलिवल, एथ्लेटिक्स, तेक्वान्डो तथा जुडो खेलतर्फ उत्कृष्ट नतिजा ल्याएको थियो । यस्तै, बाहिनीपति ट्रफी २०८२, ६ नम्बर बाहीनी अन्तर्गत शेर गण, र ७ नम्बर बाहिनी अन्तर्गत गोरख बहादुर गणले जितेका छन् । प्रतियोगिता अन्तर्गत फुटबल तर्फ उत्कृष्ट अंक प्राप्त गरि गोरख बहादुर गणले फुटबल च्याम्पियन ट्रफी प्राप्त गरेको छ ।
गोरख बहादुर गणले सोमबार बिहान भएको फाइनल खेलमा नयाँ सबुज गणलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यस प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, जुडो, एथ्लेटिक्स र स्वीमिङ्ग गरि ८ वटा विधाका खेलहरु सञ्चालन भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्य पृतना हेड क्वार्टरका पृतनापती उपरथी हरेन्द्र पाठकले उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी राष्ट्रिय खेलकुदमा स्थापित गर्ने र प्रधान सेनापति ट्रफी २०८२ का लागि योग्य खेलाडी छनौट गर्ने उद्देश्यले मध्य पृतनापति ट्रफी आयोजना गरिएको बताउनुभयो ।
यस पृतनाले नेपाली सेनाले हरेक वर्ष संचालन गर्ने प्रधानसेनापति ट्रफीमा पाँच पटकसम्म प्रथम स्थान हासिल गर्न सफल भएको छ भने चार पटक द्वितीय स्थान हासिल गरेको छ । नेपाली सेनाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*