लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न राष्ट्रवादी शक्तिहरू एक हुनुपर्छः अध्यक्ष लिङदेन

संवाददाता
१५ बैशाख २०८२, सोमबार १७:०३

१५ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाउनुभयो । अध्यक्ष लिङदेनले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राख्नुभयो । सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताउँदै उहाँले दाबी गर्नुभयो ।
अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले गत चैत १५ गते लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको भन्दै आफूहरू ठिक ढङ्गले चल्न नसक्दा सबै प्रकारका अन्याय र निरङ्कुशताहरू सहन बाध्य भएको बताउनु भयो ।
उहाँले सबै एक ठाउँ बसेर लोकतन्त्रको नामको लुटतन्त्र विरुद्ध जुट्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*