विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी

संवाददाता
२० बैशाख २०८२, शनिबार ११:५६

२० वैशाख, हेटौँडा । ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस हेटौंडामा पनि मनाईएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा प्रभातफेरी कार्यक्रम गरी मनाईएको हो । ‘नयाँ साहसी संसारमा रिर्पोटिङ’ भन्ने नारा सहित स्कुलरोडबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ भएर फेरी लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्नुहुदै महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले २०७२ सालमा जारी भएको संविधानले पूर्ण रुपमा प्रेस स्वतन्त्रताको प्रत्याभुति हुने व्यवस्था गरेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राणवायु समेत भएकोले यसलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रतासंग पनि जोडिएर हेरिने गरेको बताउनुभयो ।
लोकतान्त्रिक शासन व्यवस्था रहेका मुलुकहरुमा हुने विभिन्न राजनीतिक परिवर्तनले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने काम भइरहेको समेत उहाँले बताउनुभयो । अध्यक्ष अधिकारीले पछिल्लो समय ‘एआई’ ले सञ्चारक्षेत्रमा चुनौती थपेको जिकिर गर्नुभयो । एआईले विवेकपूर्ण पत्रकारितालाई अतिक्रमित गर्न सक्ने भएकोले त्यसतर्फ पनि सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्लाका पूर्व अध्यक्ष राममणि दाहाल लगायत जिल्लाका सक्रिय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*