१० बुँदे घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन सम्पन्न

संवाददाता
३० बैशाख २०८२, मंगलवार १७:४१

३० वैशाख, हेटौँडा । १० बुँदे घोषणापत्र जारी गर्दै ३ दिने प्रदेश युवा सम्मेलन २०८२ सकिएको छ ।
सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन ः बागमतीमा युवा सशक्तीकरण भन्ने नाराका साथ प्रदेष युवा परिषद् बागमतीको आयोजनामा आइतबार देखि सुरु भएका सम्मेलनले प्रदेशको समृद्धि र सुशासनका लागि युवालाई निर्णायक शक्ति बनाउने संकल्प सहितको १० बुद्धे घोषणापत्र जारी गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईद्धारा जारी घोषणापत्रमा प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशिलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
घोषणापत्रमा तीन तहका सरकारहरूबीच समन्वय गरी युवा परियोजना बैंक स्थापनाको माग गरिएको छ । नीति निर्माणदेखि बजेट, कानुन मस्यौदासम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको कार्यकारी उपाध्यक्ष चौंलागाईले बताउनुभयो । स्थानीय तहमा स्थानीय युवा परिषद् गठन गरी युवामैत्री नीति र बजेट निर्माण गर्न आवश्यक रहेको घोषणापत्रमा जनाइएको छ ।
कृषि नवप्रवर्तन कोष स्थापना गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, स्मार्ट फार्मिङ र एग्रो–स्टार्टअपलाई प्रवद्र्धन गर्ने, कृषिमा डिजिटल प्रविधिको प्रयोग अनिवार्य गरिनुपर्ने र कृषि उद्यम गर्न चाहने गरेका विद्यार्थी प्रमाणपत्रको अधारमा कर्जा प्रवाह गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
युवा–मैत्री डिजिटल सरकारको अभ्यास सुरु गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । नवप्रवर्तन, इनक्युबेसन सेन्टर, स्टार्टअप हब, हरित रोजगारी, ग्रीन इनोभेसन र सस्टेनेबल स्टार्टअपहरूलाई प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी आवश्यक रहेको घोषणापत्रमा उल्लेख गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।
बागमती प्रदेशको कुल जनसंख्याको करिब ४५ दशमलव ४ प्रतिशत हिस्सा युवा जनशक्तिले ओगटेको छ । परिषद्द्धारा जारी घोषणापत्र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई बुझाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*