अखिल नेपाल खेलकुद महासंघ मकवानपुरमा पुडासैनीको नेतृत्व
१० जेठ, हेटौँडा । अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको दोस्रो जिल्ला सम्मेलन हेटौंडा ५ स्थित दक्षिण काली मन्दिर हलमा शनिबार सम्पन्न भएको छ ।
महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष भोजराज पराजुलीको सभाध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले खेल क्षेत्रको विकासप्रति राज्यको ध्यान जान नसकेको बताउनुभयो । पछिल्लो समय सरकार एकपछि अर्को कान्डै काण्डमा सरकार अल्मलिरहको बताउँदै अब सबै खेलाडी, युवाजनशक्ति सचेत भई सरकारको खबरदारी गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले विद्यालय तहदेखि नै खेललाई अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिनुभयो । खेललाई अतिरिक्त क्रियाकलापसँग जोडेर होइन अनिवार्य विषय बनाएर लैजानुपर्नेमा उहाँको धारणा थियो । यस विषयमा प्रदेश सभामा आफूले आवाज उठाउँदै आएको पनि स्मरण गराउनुभयो ।

कार्यक्रममा बोल्दै बागमती गाउँपालिका अध्यक्ष सकेश घलानले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने माध्यम खेलकुद भएकाले यस क्षेत्रको विकासमा तीनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडी उत्पादनको लागि विद्यालयस्तरदेखि नै तयारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष जनक वर्तौला, हेटौंडा उपमहानगर इञ्चार्ज प्रह्लाद लामिछाने, महासंघका राकेश कुमार राई, माओवादी केन्द्र जिल्ला संयोजक भिम पाख्रिन, एन्फा बागमती प्रदेश महासचिव लवराज ठकुरी, वाईसिएल मकवानपुरका अध्यक्ष मुक्ति लामा लगायतको आतिथ्यता थियो । सम्मेलनको बन्द सत्रले पुष्पराज पुडासैनीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा मान सिं दोङ, समावेशी उपाध्यक्षमा सोभा घिमिरे, सचिवमा उमेश पुलामी, सह–सचिवमा जय बहादुर थोकर र आकाश थिङ तथा कोषाध्यक्षमा बिक्रम योञ्जन चयन भएका छन् ।














