गणतन्त्र समानता, समावेशिता र सेवाभावको प्रतिक हुनुपर्छः प्रदेश प्रमुख देवकोटा

संवाददाता
१६ जेष्ठ २०८२, बिहीबार १४:०८

१५ जेठ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गणतन्त्रका उपलब्धिहरुलाई कसैले पनि नकार्न नसक्ने बताउनुभएको छ ।
गणतन्त्रका उपलब्धिहरुलाई नकारात्मकताको उपमा दिनु राजनीतिक पूर्वाग्रह मात्र भएको उहाँको भनाई छ । गणतन्त्र दिवस २०८२ को अवसरमा बिहिबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले गणतन्त्र शासन व्यवस्था मात्र नभै न्याय, समानता, समावेशिता र सेवाभावको प्रतिक हुनुपर्ने बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र अमुर्त कुरा नभई अनुभुति गर्न सकिने व्यवस्था भएको उहाँले उल्लेख गर्नुभयो । जनताले गणतन्त्रबाट अपेक्षा गरे अनुसारको परिवर्तनको महसुस अझै पनि गर्न नसकेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख देवकोटाले सत्ता केन्द्रित नभई सेवा केन्द्रित भएर राजनीतिक दलहरु अगाडि बढनुपर्नेमा जोड दिनुभयो । जनतालाई सर्वोपरि राखेर परिणाममुखी कार्यहरु मार्फत जनताको सुखद दैनिकीको सारथी बन्न समेन उहाँले आग्रह गर्नुभयो ।


यसैगरी समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामाले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल आत्मा संघीयता र समावेशी शासन व्यवस्था भएको बताउनुभयो । संघियताको पूर्ण कार्यान्वयन मार्फत शासकीय सत्ता आमनागरिकको तहमा पु¥याउन अझै पनि काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले नागरिकलाई अधिकार सम्पन्न बनाई समृद्ध प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो । प्राप्त उपलब्धिहरुलाइं संस्थागत गर्न ढिलाई हुँदा प्रतिगामी तत्वहरुले शासन व्यवस्था माथि नै प्रश्न गर्ने चेष्टा गरेको उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री लामाले गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारले गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै चणिकलाल तामाङलाई नगद १ लाख रुपैंया सहित सम्मान गरेको छ । त्यसैगरी सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको समाचार लेखन प्रतियोगितामा प्रथम हुन सफल कृष्णा विष्ट(सुनिता)लाई नगद २० हजार, द्वितीय भएकी सरस्वती अधिकारीलाई १५ हजार, तृतीय भएकी स्मिता अर्जेललाई १० हजार र सान्त्वना भएकी सुनिता सापकोटालाई नगद ५ हजार प्रदान गरिएको थियो । यसअघि विभिन्न समुदायको भेषभुषासहितको झाँकी र बाजगाजासहित ¥यालीले नगर परिक्रमा गरी मुख्यमन्त्री कार्यालयको परिसरमा मञ्चको कार्यक्रममा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*