यातायात व्यवसायीले जेठ १९ गतेदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने

संवाददाता
१९ जेष्ठ २०८२, आईतवार १७:३३

१८ जेठ, हेटौँडा । यातायात व्यवसायीहरुले विभिन्न ७ बुँदे माग राख्दै जेठ १९ गतेदेखि देशव्यापी रुपमा अनिश्चित्तकालिन आन्दोलनको घोषणा गरेको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात बचाउ अभियानले सवारी साधनहरु घर, ग्यारेजमा थन्काएर अन्दोलन गर्ने घोषणा गरेका हुन् । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेज गर्न उनीहरुले माग गरेका छन् ।
सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पती फुकुवाको परमादेश लागु गर्न माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार एवम् मकवानपुरका आन्दोलन संयोजक गोकर्ण पराजुलीले जानकारी दिनुभयो । सवारी ऐन संशोधनकै क्रममा रहेको अवस्थामा यातायात महासंघ र मजदुर संघ संगठनहरुसंग विभिन्न समयमा भएको सम्झौता सहमतिहरु र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरु कार्यान्वयन नगरिएको संयोजक पराजुलीले बताउनुभयो ।
स्वेदशी तथा विदेशी सवारी साधनको भारबहन क्षमता कडाई साथ लागु गर्न, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य रुपमा लागु गर्नुपर्ने उहाँको भनाई छ । बिमा दर निर्देशिका २०७३ लाई समयानुकुल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको लागि दुर्घटना राहतकोषको स्थापना गर्न ढुवानी ऐन लागु गरी माल वस्तुमा अनिवार्य बिमा गर्ने नीति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्तामुखी, प्रविधिमैत्री बनाउन यातायात प्राधिकरण गठन गर्न पनि यातायात व्यवसायीहरुले माग गरेका छन् ।
त्यसैगरी छिमेकी मुलुकहरुबाट नेपाल प्रवेश गर्दा मालबाहक तथा यात्रुबाहक सवारी साधनले नेपालको भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान नीतिलाई संशोधन गर्नुपर्ने समेत उनीहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल ट्रक यातायातको केन्द्रिय सदस्यहरु सरोज खनान र बद्री चौलागाई, अखिल नेपाल यातायात मजदुर संघको मकवानपुर अध्यक्ष बासु सिकारी, यातायात मजदुर संघ मकवानपुरका उपाध्यक्ष नवराज घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सहकोषाध्यक्ष अर्जुन गौतम, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*