‘जलवायुको समस्या न्युनिकरणको लागि स्थानीय स्तरको सशक्त सहभागिता जरुरी’
२० जेठ, हेटौँडा । विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार “जलवायु सचेतना ः समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक प्यानल डिस्कसन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाबारे सशक्त छलफल गर्ने उद्देश्यले कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माण मात्र नभई समुदायस्तरबाट हुने सचेत प्रयासको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोलस्तरमा जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनिकरण, हरियाली प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा वातावरणविद् डा. बलराम भट्टले वैज्ञानिक दृष्टिकोणबाट जलवायु परिवर्तनको प्रभाव र समाधानका उपायबारे प्रस्तुति दिँदै शिक्षा, प्रविधि र समुदायको समन्वय आवश्यक रहेको बताउनुभयो । त्यस्तै, ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले निजी क्षेत्रको भूमिका र अनुभव साझा गर्दै हेटौंडामा फोहोरमैला व्यवस्थापनका क्रममा आइपर्ने व्यवहारिक चुनौती र समाधानमाथि प्रकाश पार्नुभएको यिो ।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, नीतिगत कमजोरी, फोहोर व्यवस्थापनमा निजी र सार्वजनिक क्षेत्रको समन्वय, र युवाहरूको भूमिका सम्बन्धमा प्रश्नहरू राखी सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए । कार्यक्रमको सहजीकरण अनन्त कुमार बाँनियाले गरेका गर्नुभएको थियो ।
समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु–संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको छ । समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु–संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक डा. भिम प्रसाद तिमल्सिना, वातावरण ईन्जिनियर चन्दा खड्का, जिवन शर्मा लगायत ७० जना भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।














