सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला सम्पन्न
२४ जेठ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा शनिबार कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले सञ्चार क्षेत्रको सशक्तिकरणका लागि उपमहानगर सधैं प्रतिबद्ध रहेको बताउनुभयो । नगर प्रमुख लामाले सञ्चारमाध्यमले सही सूचना सम्प्रेषणमार्फत राज्यका निकायहरुलाई सजग बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजमा भए गरेका सकारात्मक कार्यहरू पनि प्रकाशमा ल्याउन आग्रह गर्दै नकारात्मक समाचार मात्रै लेख्दा समाजमा निराशा फैलने उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरक्षित रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन राज्यमाथि दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । श्रमजीवि पत्रकार ऐनको कुनै पनि दफा सरकारले अहिले कार्यान्वयन नगरेको उहाँको भनाई छ । महासचिव दाहालले प्रविधिको तीव्रतर विकासले पेशामा चुनौती थपेको बताउनुभयो । सञ्चारकर्मीहरुले पत्रकार आचारसंहिता र मुल्य मान्यतालाई ख्याल गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । महासचिव दाहालले तीन वटै तहको सरकारले कानुन मार्फत प्रेसलाई नियन्त्रण गर्न खोजेको आभास हुन थालेको समेत उल्लेख गर्नुभयो ।
बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत रुमा पत्रकारिता गर्ने सञ्चारमाध्यम संकटमा परिरहेको बताउनुभयो । डिजिटल युगमा पत्रकारिताले समाज रुपान्तरणको नयाँ दिशा लिनुपर्ने उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा महासचिव दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने सञ्चार रजिष्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चूनौति र यसका सकारात्मक पक्षहरू विषयमा प्रस्तुतिकरण राख्नुभयो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरकी सल्लाहकार अञ्जली थापा, पत्रकार महासंघका पूर्व अध्यक्षहरु, विभिन्न पत्रकार संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।














