थाहा नगरपालिका ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषणा
३ असार, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका ‘पूर्ण खोप दिगोपना सुनिश्चितता वडा तथा पालिका’ घोषणा भएको छ ।
थाहा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख बिष्णु बिष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्त रूपमा मंगलबार घोषणा गर्नुभएको हो । यो घोषणा ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित गरिएको हो ।
नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार, पहिलो चरणमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको हो । पछिल्लो सर्वेक्षणअनुसार १६ देखि २३ महिनाका ४ सय ३८ र १५ महिनाका ४८८ जना बालबालिकाले पूर्ण रूपमा खोप लगाएको तथ्यांक रहेको जनाइएको छ ।
खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, २९ वटा खोप केन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ । यसै आधारमा करिब ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि, पालिकालाई जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गरिएको र स्वीकृत भई घोषणा गरिएको हो ।
पालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र तीन सहरी स्वास्थ्य केन्द्रसहित पाँचवटा स्वास्थ्य संस्था रहेका छन् । नगर प्रमुख बिष्णु बिष्टले घोषणा कार्यक्रममा बोल्दै खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने स्पष्ट पार्नुभयो ।














