वडा अध्यक्ष न्यौपानेमाथिको आक्रमणप्रति सात प्रमुख दलको संयुक्त विरोध

संवाददाता
५ असार २०८२, बिहीबार १२:४२

५ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणप्रति मकवानपुर जिल्लाका ७ राजनीतिक दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहिबार एक संयुक्त विज्ञप्ति निकाल्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, रास्वपाले जनप्रतिनिधि माथिको अमानवीय आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथिकै प्रहार भएको निष्कर्ष निकालेको हो । उनीहरूले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । समस्या समाधानको उत्तम उपाय सहकार्य र संवादलाई समेत उपहास गरी जनप्रतिनिधि माथि भएको अभद्र एवम् अमानवीय व्यवहार प्रति घोर आपत्ती प्रकट गरेको छ ।
यसैगरी नेपाल प्रेस युनियन मकवानपुरले पनि वडाध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियन मकवानपुरका पूर्व अध्यक्ष, रिपोटर्स क्लब नेपाल मकवानपुरका पूर्व अध्यक्ष तथा निरन्तर प्रकाशित दैनिक ‘क’ पत्रिकाका सम्पादक समेत रहेका न्यौपानेमाथि असार ३ गते दिउँसो ४ः३० बजेको समयमा कार्यकक्षमै पुगेका कालो पोशाकमा मोटरसाइकलमा आएका समूहले मोबिल छ्याप्दै हातपात गरेको घटनाले प्रेस स्वतन्त्रता र जनप्रतिनिधिको सुरक्षाप्रति प्रश्न उठाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष सुवास विडारीद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट जारी कानुन र परिपत्रअनुसार सार्वजनिक जिम्मेवारी वहन गरिरहेका जनप्रतिनिधिमाथि भएको आक्रमण आपत्तिजनक रहेको जनाइएको छ । प्रेस युनियनले आक्रमणकारीलाई तत्काल कानुनी प्रक्रियामा ल्याउन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
साथै, विज्ञप्तिमा प्रेस युनियनले कानुनले दिएको अधिकार प्रयोग गरी कर्तव्य निर्वाह गरिरहेका जनप्रतिनिधिमाथि भएको आक्रमणप्रति भत्र्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान र सजायको सुनिश्चितता गर्न जोड दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*