सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ नगरे आन्दोलनमा उत्रने चेतावनी

संवाददाता
६ असार २०८२, शुक्रबार २०:४६

६ असार, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कमिटीले हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ नगरे आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठसहित प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुख समक्ष नगर सभापति उत्सव इटेनीले हेटौंडा दिनप्रतिदिन असुरक्षित हुँदै गइरहेको र प्रहरी–प्रशासनले पूर्णरुपमा असफल हुने बाटोतर्फ अग्रसर भएको आरोप लगाउनुभयो ।
प्रहरी प्रशासनबाट ५० मिटरको दुरीमा रहेको वडा कार्यालयमा जनप्रतिनिधि माथि नै आक्रमण हुनुले प्रशासन माथि नै शंका उब्जाएको सभापति इटेनीले बताउनुभयो । उहाँले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा नल्याएको खण्डमा आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो । त्यसैगरी सभापति
इटेनीले हेटौंडा सिमेन्ट उद्योगको कवडी चोरी भएको विषयमा समेत प्रहरी र प्रशासनले केही गर्न नसकेको उल्लेख गर्नुभयो । जनप्रतिनिधिको गुनासो समेत प्रशासन कार्यालयबाट सम्बोधन नहुँदा जिल्लाबासीले कसरी सुरक्षित महसुस गर्न सक्छन् ? भन्दै उहाँले प्रजिअ श्रेष्ठलाई प्रश्न समेत गर्नुभयो । सभापति इटेनीले प्रशासनको अनुरोध अनुसार केहीदिनभित्र पर्खने र त्यसपछि पनि वडा अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गर्ने पक्राउ नगरेको खण्डमा आफूहरु प्रशासनविरुद्ध आन्दोलन गर्ने बताउनुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले घटनाको सुुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभयो । सिसिटिभी फुटेजमा देखिएका व्यक्तिको पहिचान हुन नसक्दा समस्या भएको उहाँको भनाई छ । त्यसैगरी प्रजिअ श्रेष्ठले प्रशासनको काम शंका नगर्न आग्रह गर्नुभयो । समाजको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन आफुहरु प्रतिबद्ध रहेको समेत उहाँले दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*