हेटौंडामा असार १२ र १३ गते सीप महोत्सव हुने

संवाददाता
७ असार २०८२, शनिबार १९:२८

७ असार, हेटौँडा । सीप विकाससँग सम्बन्धित विभिन्न आयामहरुको बारेमा उजागर गर्ने अभिप्रायका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने सीप महोत्सव आयोजना हुने भएको छ ।
बागमती प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा असार १२ र १३ गते सीप महोत्सव २०८२ आयोजना हुन लागेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।
दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारको अवसर सुनिश्चितताका साथै स्वदेशमै रोजगारीको अवसर छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिई सीप महोत्सवको आयोजना गर्न लागिएको बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिनुभयो । महोत्सवमा बागमती प्रदेश स्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण, विद्यार्थी तथा युवाहरूलाई अभिमुखीकरण, सीप सिकाई र प्रदर्शनका साथै विद्यार्थीहरूलाई उद्योग भ्रमण गराउने कार्यक्रमहरू समावेश गरिएको अध्यक्ष पोखरेल जानकारी दिनुभयो । महोत्सवले सीप, दक्षता, अनुभव आदानप्रदान गर्दै उद्योग र प्राविधिक शिक्षाको सशक्तिकरणमा जोड दिने उहाँले बताउनुभयो ।
निजी क्षेत्र, सरकार, प्राविधिक शिक्षालय र उद्योगबीचको सहकार्यको रुपमा महोत्सवलाई लिइएको छ । मकवानपुर, चितवन, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन भएका शिक्षालयमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन हुने ९ वटा शिक्षालयहरूबाट छनौट गरी प्रदेश स्तरीय सीप महोत्सवमा सहभागी गराइनेछ ।
प्रत्येक शिक्षालयबाट प्रथम र द्वितीय हुने विजेतालाई सम्बन्धित शिक्षालयबाट प्रशंसापत्र प्रदान गरिने बताइएको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा पूर्व बाल विकास सहजकर्ता र इलेक्ट्रिकल विधामा लाइभ तालिमका साथै एक हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि साइकोमेट्रिक परीक्षण लगायतका कार्यक्रम रहेका छन् । महोत्सवमा तीन हजारदेखि पाँच हजारसम्मले अवलोकन गर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*