पत्रकार आचारसंहिताका विषयमा मकवानपुरका सञ्चारकर्मीसँग छलफल

संवाददाता
१२ असार २०८२, बिहीबार १९:०७

१२ असार, हेटौँडा । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताका विषयमा मकवानपुरका सञ्चारकर्मीसँग छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा बिहीबार प्रेस काउन्सिलका सदस्य नकुल अर्यालले प्रेस स्वतन्त्रता, आचारसंहिता र काउन्सिलको भूमिका लगायतका विषयमा केन्द्रित रहेर सञ्चारकर्मीसँग छलफल गर्नुभएको हो । छलफलमा सहभागी सञ्चारकर्मीहरूले प्रेस काउन्सिलको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।
काउन्सिलमा सुधारको आवश्यकता औंल्याउँदै यसलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए । छलफलमा बोल्दै सदस्य अर्यालले प्रेस काउन्सिलको भूमिकालाई सशक्त बनाउँदै लैजानका लागि जिल्ला–जिल्लामा छलफल तथा सुझाव संकलन गरिएको बताउनुभयो । उहाँले प्रेस काउन्सिल पत्रकारिता क्षेत्रलाई नियमन गर्ने निकाय भएको उल्लेख गर्दै सञ्चारकर्मीबाट आएका सुझाव अनुसार कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रेस काउन्सिलले ठाडो उजुरीका आधारमा नभई तथ्य हेरेर मात्रै पत्र काट्नुपर्ने उहाँले बताउनुभयो । साथै, काउन्सिलमा आएका उजुरीका सम्बन्धमा समाचारमा चित्त नबुझेका विषयमा मात्रै खण्डन हुनुपर्ने धारणा राख्नुभयो । संसदमा विचाराधीन मिडिया विधेयक पारित भए काउन्सिल स्वतः खारेज हुने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल मिलेर बनाएको पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्नेमा सदस्य अर्यालले जोड दिनुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पत्रपत्रिका वर्गीकरण, लोककल्याणकारी विज्ञापन, समाचार कपीको समस्या लगायतका विषयहरू उठान गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, सल्लाहकार अन्जली थापा लगायत मकवानपुरका विभिन्न सञ्चारगृहका प्रकाशक, सम्पादक, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*