हेटौंडामा शनिबारदेखि २ दिने रोजगार महोत्सव सुरु

संवाददाता
१४ असार २०८२, शनिबार १६:४१

१४ असार, हेटौँडा । ५ सय युवालाई अन द स्पट प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्य सहित हेटौंडामा शनिबारदेखि २ दिने रोजगार महोत्सव सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । शनिबार र आइतबार चल्ने महोत्सवको उद्घाटन बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उदघाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री महर्जनले समृद्धिको अभियानलाई सार्थक बनाउन रोजगारीको महत्व धेरै रहेको बताउनुभयो ।
मन्त्री महर्जनले नेपालमा रोजगारी पाइँदैन भन्ने भाष्य हटाउन जरुरी रहेकोमा जोड दिनुभयो । प्रदेश सरकारले उच्च शिक्षा हासिल गरेपछि युवालाई स्वरोजगारीमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाइरहेको उहाँले बताउनुभयो । प्रदेशका युवाहरूलाई साथमा लिएरसमृद्धिको अभियानलाई सार्थक बनाउन लागिपर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।


मन्त्री महर्जनले देशलाई आर्थिक रूपमा सबल बनाउनुका साथै रोजगारीको अवसर प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको भूमिका प्रशंसनीय रहेको धारणा राख्नुभयो । आर्थिक कारणले थला परेका उद्योगी व्यवसायीका लागि पनि प्रदेश सरकारले छलफल गरेर आवश्यक नीति तयार पार्ने उहाँले आश्वासन दिनुभयो । प्रदेश सरकारले आइटी क्षेत्रमा काम गर्ने जनशक्तिका लागि जब ग्यारेन्टी क्षमता विकास तालिम प्रदान गर्ने तयारी गरेको मन्त्री महर्जनले जानकारी दिनुभयो ।


हेटौंडा उपमहानगरपालिकाको समेत सहकार्य रहेको महोत्सवमा राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको छ । एक हजारभन्दा बढी युवाले अनलाइनमार्फत महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका थिए । रोजगार महोत्सवबाट कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी र रोजगारीको खोजीमा रहेका युवाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । महोत्सवमा अन द स्पट रोजगारीका साथै व्यवसाय गर्न चाहने युवाहरूका लागि क्यारियर मार्गदर्शन, व्यवसायिक अवसर, बजारीकरण तालिम, बैंक कर्जा प्रवाहको तयारी, उद्यमशीलता प्रवद्र्धन, व्यवसायिक तालिम कार्यशाला, आत्मविश्वास विकास, सीभी लेखन, अन्तर्वार्ता तयारीका सीपहरु र विषयगत अन्तरक्रिया लगायतका कार्यक्रमहरू समावेश गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौंलागाईले बताउनुभयो ।


उद्घाटन समारोहमा बागमती प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, जिल्ला समन्य समितिका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेल लगायतले मन्तव्य राखेका थिए । अधिकांश वक्ताले बढ्दो युवा पलायन रोक्न स्वदेशमै रोजगारी सृजना हुनुपर्नेमा जोड दिएका थिए । मकवानपुर उद्योग वाािण्ज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*