कलंकी– मार्खु–विशंखेलसम्मको पर्यटकीय मार्गको निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयलाई सास्ती
हेटौँडा, २५ असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कलंकीदेखि मार्खु–विशंखेलसम्मको पर्यटकीय मार्ग निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् ।
बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन ८ दशमलव ८ किलोमिटर सडकको भौतिक प्रगति ४५ प्रतिशत मात्रै रहेको छ । जसका कारण स्थानीयवासी वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य छन् ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३५ करोड २८ लाख ६२ हजार रुपैयाँ लगानीमा लामा आइएस आरआर जेभी काठमाडौँले दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माणले गती पाउन सकेको छैन ।
असार मसान्तभित्र काम सक्नुपर्ने सम्झौता भए पनि हालसम्म ४५ प्रतिशत मात्रै काम सकिएको छ भने वित्तीय प्रगति ३० प्रतिशत छ । सम्झौता अनुसार सडक चौडा गरी कालोपत्रे गर्ने मुख्य जिम्मेवारी पाएको निर्माण कम्पनीले तोकिएको समयमा काम नसक्दा स्थानीयवासी, पर्यटक र इन्द्रसरोवर क्षेत्रका होटल व्यवसायी मारमा परेका छन् । सडक निर्माणमा भइरहेको ढिलाइले यस क्षेत्रमा आउने पर्यटकको संख्या घटेको र होटल व्यवसाय प्रभावित बनेको व्यवसायीहरूको गुनासो छ ।
पूर्वाधार विकास कार्यालय हेटौंडाका प्रमुख सुजन भण्डारीका अनुसार तोकिएको समयमा काम नसकिएपछि निर्माण कम्पनीलाई एक वर्ष समय थप गरिएको छ।














