बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडामा प्रहरी अस्पताल निर्माण हुने
३१ असार, हेटौँडा । बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडा उपमहानगरपालिका–१७, हटियामा बागमती प्रदेश प्रहरी अस्पताल निर्माण हुने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आठ करोड तीन लाख रुपैयाँको बजेटमा निर्माण हुने अस्पतालको शिलान्यास मंगलबार गरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गर्नुभएको हो । बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने यस आयोजना अन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, अस्पताल परिसर कम्पाउण्ड, पार्किङ लगायतका संरचनाहरू निर्माण हुनेछन् ।
प्रस्तावित ३० शैयाको अस्पताल भए पनि पहिलो चरणमा २०८३ पुससम्म १५ शैयाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का लगायतको उपस्थिति रहेको थियो ।














