सांकेतिक विरोध स्वरूप हेटौंडाका जनप्रतिनिधिले प्रशासनबाटै सेवा दिए

संवाददाता
५ श्रावण २०८२, आईतवार १४:३२

४ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय मकवानपुर परिसरबाट सेवाग्राहीलाई सेवा दिएका छन् ।
उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन नसकेको भन्दै उनीहरूले सांकेतिक विरोध स्वरूप प्रशासनबाटै सेवा प्रवाह गरेका हुन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै नगर उपप्रमुख राजेश बानियाँसहित १० वटा वडाका अध्यक्षहरूले दुई घण्टासम्म परिसरमै डेक्स राखेर सेवा प्रवाह गरे ।
वडा कार्यालय भन्दा जिल्ला प्रशासन कार्यालय बढी सुरक्षित लागेकाले प्रशासनबाट नै सेवा प्रवाह गरिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । आक्रमण भएको एक महिना बितिसक्दा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा अन्य सोझासाझा जनतालाई दुःख दिने काम गरेको उहाँको आरोप छ । आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा समेत प्रहरीले पक्राउ नगरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले अपराधी पक्राउ गर्न प्रहरी र प्रशासनले तदारुकता नदेखाएका कारण आफूहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको बताउनुभयो । स्थानीय तह स्वयं सरकार र जनताको सेवक भए पनि आन्दोलन गर्नु बाध्यता भएको उहाँको भनाई छ ।


यस विषयमा गृहमन्त्रीसम्म जानकारी गराइसक्दा पनि आक्रमणकारी पक्राउ गर्न नसक्नुमा प्रशासन र प्रहरीकै मिलोमतो रहेको आशंका उब्जिएको उहाँको भनाई छ । जबसम्म आन्दोलनकारी पक्राउ पर्दैनन्, तबसम्म आन्दोलनका कार्यक्रम जारी रहने उपप्रमुख बानियाँले बताउनुभयो ।
यता, धर्ना स्थलमा पुगेका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले आक्रमणकारी पक्राउका लागि प्रहरीले वास्तै नगरेको भन्न नमिल्ने जिकिर गर्नुभयो । अनुसन्धानमा प्रहरी प्रशासन निरन्तर खटिरहेको उहाँको दाबी छ । अनुसन्धानका क्रममा नेकपा विप्लव समूहका कार्यकर्ता रहेको पाइएकोले घटनासँग सम्बन्धित केही व्यक्तिहरू पक्राउ परेको समेत उहाँले बताउनुभयो ।
आम असर्वसाधारणदेखि जनप्रतिनिधिको सुरक्षा दिनु प्रहरीको नैतिक कर्तव्य रहेको बताउँदै उपमहानगरसँग निरन्तर समन्वयमा प्रहरीले अनुसन्धान गर्दै आइरहेको उहाँको भनाइ छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेलले भने अनुसन्धानमा केही प्रगति देखिए पनि जति रुपमा अनुसन्धान हुनुपर्ने हो, त्यो रूपमा हुन नसकेको स्वीकार गर्नुभयो । घटना घटेको सुरुदेखि नै जिल्ला प्रशासनले दृश्य अदृश्य रुपमा अनुसन्धान कार्य अघी बढाइरहेको बताउनुभयो । घटनाप्रति शून्य सहनशीलता लिएको उल्लेख गर्दै जनप्रतिनिधिले आवश्यक ठानेमा जिल्ला प्रशासन कार्यालय सुरक्षाकर्मी खटाउन समेत तयार रहेको उहाँले बताउनुभयो ।


हेटौंडाका वडा अध्यक्षहरूले आज र भोलि जिल्ला प्रशासन कार्यालय परिसरबाट सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन् । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाका १० वटा वडाका जनप्रतिनिधि आन्दोलनमा सहभागी थिए। आन्दोलनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष भने सहभागी भएका थिएनन् ।
आन्दोलनको कार्यक्रम तय गर्दा सामूहिक निर्णय नगरिएको भन्दै उनीहरू आन्दोलनमा उपस्थित नभएको बताइएको छ । वडा कार्यालयमा काम गरिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडाका अध्यक्ष न्यौपानेमाथि गत असार ४ गते आक्रमण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*