मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता, काग्रेसका ४ जना मन्त्रीेले दिए राजीनामा
९ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् ।
कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता भएसंगै मुख्यमन्त्री बहादुर सिंह लामाको पद धरापमा परेको छ ।
२१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
बहादुरलाई हटाउन १९ सांसद चाहिनेमा २१ जनाको हस्ताक्षर जुटेको हो। यससँगै कुनै नाटकीय मोड नआए मुख्यमन्त्री तामाङ संसदीय दलमा नरहने देखिएको छ । संसदीय दलको नेता परिवर्तन भएमा उनी मुख्यमन्त्री पनि रहने छैनन् ।
कांग्रेसभित्रको आन्तरिक राजनीतिका कारण शुक्रबार नै चार जना मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।














