बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र लामाको उम्मेदवारी
१४ श्रावण, हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका हुन् । हेटौँडास्थित बागमती प्रदेशसभा भवनमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । मुख्यमन्त्री लामाको प्रस्तावकमा तिर्थ लामा र रामकुमार पहाडी रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकृष्ण चित्रकार रहेका छन् । त्यस्तै, बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।
यी दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् । कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो । कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए । दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि लामा मुख्यमन्त्री पदमा कायम छन् ।
बुधबार गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता चयन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।
मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । निर्वाचन समितिले जनाएअनुसार मतदानलगत्तै मतगणना सुरु हुनेछ र आजै नतिजा सार्वजनिक गरिनेछ । मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो ।














